Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


राजपाद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध


0
Shares

काठमाडौं, चैत ३ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आइतबारपनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका थिए ।

विरोधपछि सभामुख कृष्णबहादुर महराले राजपाका सांसद लक्ष्मणलाल कर्णलाई बोल्न समय दिए ।

सभामुखले बोल्न समय दिएपछि राजपा सांसद कर्णले ६ महिनासम्म चलेको मधेस आन्दोलन र थरुहट आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित सर्वाच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने बताए ।

आन्दोलनमा कोही दोषी हो कि होइन भन्ने विषय राज्यले बनाएको आयोगबाट थाहा हुने सांसद कर्णको भनाइ थियो ।

यसअघि, यही विषयलाई लिएर गएको बुधबारपनि राजपाले संसद बैठक अवरुद्ध गरेको थियो ।

उक्त बैठकमा सभामुख कृष्णबहादुर महराले उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका थिए ।

सांसद कर्णले सभामुखले ‘रुलिङ’ गर्दापनि सरकारले आयोगको प्रतिवेदन सार्वजनिक गर्न चासो नदिएको बताउँदै ‘वर्तमान सरकार संसदबाट गठन भएको हो कि होइन ?’ भन्दै प्रश्न गरे ।

राजपाको अवरोधपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो ।

बैठक स्थगित गरेपछि सभामुख महराले राजपासँग बैठक सुचारु गर्नेबारे छलफल गरेपनि बैठक सुचारु गर्न राजपा सहमत नभएपछि सूचना टाँस गरी बैठक सोमबार दिउँसो २ बजे बस्ने गरी स्थगित गरिएको छ ।