३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


सत्ता घटकले दुई तिहाई जुटाउन बनायो रणनीति


0
Shares

सीमांकन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव मंगलबारै संसदमा पेस गर्ने सत्ता घटकको तयारी भए पनि त्यसैलाई देखाउँदै संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले केही दिन समय मागेकाले सत्ता घटक अबको ६ दिनसम्म दुई तिहाइ मत सुरक्षित गर्ने रणनीतिमा लागेका हुन् ।

‘संशोधन प्रस्ताव पारित गराउन मधेसी मोर्चा र प्रतिपक्षी एमालेसँग विभिन्न चरणमा कुराकानी भइरहेको छ,’ सञ्चारमन्त्री तथा माओवादी केन्द्रका नेता सुरेन्द्र कार्कीले भने, ‘सकेसम्म पारित नै गराउँछौं । सफल हुन नसके पनि अहिलेको गतिरोधले अब निकास पाउँछ ।’

माओवादी केन्द्र स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं र अरू उच्च नेताहरू अन्य दलसँग विधेयक पारित गराउन संवादमा सहभागी हुनेछन् । सर्वोच्चको फैसलासँगै संसद् अवरोध फुकाउने ठहरमा पुगेको एमालेले पुस २२ को जनप्रदर्शनसम्म सभामुख ओनसरी घर्तीसँग समय मागेको थियो । त्यसपछि पुस २४ गते बस्ने संसद् बैठकमा एमालेले प्रस्तावको विपक्षमा आफूलाई उभ्याउने रणनीति मंगलबारको स्थायी समिति बैठकबाट लिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भने संविधान संशोधन प्रस्ताव संसद्बाट पारित नै गराउने दाबी गरेका छन् । एक तिहाइभन्दा बढी सांसद प्रमुख प्रतिपक्ष एमालेको पक्षमा भइरहेका बेला देउवा भने संशोधन विधेयक पारित हुनेमा ढुक्क देखिएका छन् । ‘मलाई विश्वास छ एमालेले पनि संशोधन विधेयकको पक्षमा भोट हाल्छ, एमालेकै समर्थनमा पास पनि हुन्छ,’ मंगलबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उनले भने, ‘संसदमा दर्ता भएको प्रस्ताव पारित हुन्छ । यसमा कुनै संशोधन हुन्न ।’

उनले २४ गतेदेखि संसदको अवरोध खुल्ने पनि दाबी गरे । –कान्तिपुर दैनिकबाट