नाटकमा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन « Image Khabar


नाटकमा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन


Imagekhabar
२० पुष २०७३, बुधबार ०७:१५

राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्कय’ मा अभिनय गर्दागर्दै स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उनको निधन भएको हो ।

दुई घन्टाको सो नाटक सुरुवात भएको डेढ घन्टा पुगेपछि एक्कासि नाटक गर्दागर्दै बेहोस भई फुयाँल ढलेपछि तत्कालै वीर अस्पताल पुर्‍याइएको प्रत्यक्षदर्शीसमेत रहेका सञ्चारकर्मी शिरोमणि दवाडीले जानकारी दिए ।

सत्यमोहन जोशीले लेखेको सो नाटकमा फुयाँलले राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । चिकित्सकले फुयाँललाई हृदयघात भएको बताएका छन् । झन्डै पाँच दशकदेखि रङ्गक्षेत्रमा सक्रिय फुयाँल नाटकका साथै थुप्रै टेलिचलचित्र र चलचित्रमा अभिनय गरेका थिए ।

विसं. १९९४ भदौ २३ गते भक्तपुरको थाकलमाटमा जन्मिएका फुँयाल राष्ट्रिय जनसांस्कृतिक महासंघनिकट जननाट्य मञ्चका पूर्व अध्यक्षसमेत थिए ।

नेपाल भाषाको टेलिशृङ्खला कर्मयाभोगमा २०१९ मा अभिनय गरी नाट्ययात्रा आरम्भ गरेका फुँयाल ‘अविरल बग्दछ इन्द्रावती,’ ‘तीतो सत्य’लगायत टेलिशृङ्खलामा निर्वाह गरेको सशक्त भूमिकाका कारण चर्चित थिए ।

सुकुलगुण्डा, भत्केको सपना, कोरस, जनैको साँचो, कान्छा, आगोका झिल्का, नौलो डाँडालगायत उनीद्वारा अभिनित नाटक लोकप्रिय छन् ।

उनले २०० भन्दा बढी सानो पर्दाका र ४० भन्दा बढी ठूलो पर्दाका चलचित्र एवं पाँच सय भन्दा बढी नाटकमा अभिनय गरिसकेका बताइएको छ ।

फुयाँल लामो समयदेखि सुगर र युरिक एसिडबाट पीडित थिए । उनका तीन छोरा छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्