२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष नाघ्न नहुने, के भन्छन् विद्यार्थी नेता ?


0
Shares

                                                                                        फाइल फोटो
बुधबार बसेको त्रिविको ४२औं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गंगाबहादुर थापाले जानकारी दिए ।

उमेरको हदबन्दी तोकिएपछि आगामी फागुन १४ गते स्ववियु निर्वाचन हुने निश्चितजस्तै भएको छ ।

बैठकले मिश्रित निर्वाचन प्रणाली अपनाउने निर्णयसमेत गरेको उनले बताए ।

अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचनबाट र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट चयन गरिने छ ।

विद्यार्थी संगठनबीच उमेर हदबन्दीको विषयमा विवाद हुँदै आएको थियो ।

प्रत्येक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता विद्यार्थी संगठनबीच विवाद सिर्जना भएर हुनसकेको छैन ।

विद्यार्थी संगठनद्वारा स्वागत्
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले उमेर हदबन्दी तोकेसँगै अब स्ववियु निर्वाचन हुने सुनिश्चित भएको बताए ।

उनले आफ्नो संगठनले नै उमेरको हदबन्दी माग गरेको जानकारी दिए ।

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो संगठनले एकपटक निर्वाचनका लागि उमेरको हदबन्दी नलगाउने पक्षमा रहेपनि निर्वाचनको सुनिश्चितता भए उमेरको हदबन्दीलाई मानेर जाने बताए ।

अनेरास्ववियुका महासचिव ऐन महरले उमेरको हदबन्दी लगाएसँगै निर्वाचनको सुनिश्चितता भएको प्रतिक्रिया दिए । रासस