‘निर्यात बढाउन सरकार गम्भीर भएन’ « Image Khabar


‘निर्यात बढाउन सरकार गम्भीर भएन’


Imagekhabar
२२ पुष २०७३, शुक्रबार १९:५६

नेपाल निर्यात परिषद्को आयोजना र नेपाल हस्तकला महासंघको सहआयोजनामा शुक्रबार राजधानीमा पहिलो निर्यात दिवस २०७३ मनाइएको हो ।

कार्यक्रममा निर्यात व्यवसायीहरुले व्यापार घाटा चिन्ताजनकरुपमा बढ्दै जाँदासमेत सरकार निर्यात बढाउन पटक्कै गम्भीर नभएको गुनासो गरे ।

परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले यस क्षेत्रमा विद्यमान कमी–कमजोरी र समस्याहरुलाई समाधान गर्न सबै सरोकारवालाहरु एकै ठाउँमा जुट्दै निकासी प्रवद्र्धनका लागि काम गर्न आवश्यक रहेको बताए ।

‘नेपाली उत्पादनको निर्यातको अवस्था झन् खस्कँदै गएको छ । निर्यातभन्दा आयात १२ गुणा बढी हुन थालिसकेको छ । तीन वर्षअघिको निर्यातको तुलनामासमेत पछिल्ला वर्षमा निर्यात खुम्चिँदै गएको’ भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरे ।

देशको राजनीतिक अवस्था, विनाशकारी भूकम्प, नाकाबन्दीलगायतका कारण नेपाली निर्यातजन्य वस्तुहरुको निकासीमा ह्रास आएको परिषद्ले जनाएको छ ।

सरकारले निर्यात प्रबद्र्धन गर्न मौखिकबाहेक व्यवहारिकरुपमा कुनै ठोस कार्य नगरेको परिषद्ले जनाएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी सक्रियतामै मनाइनुपर्ने दिवस निजी क्षेत्रले सुरु गरेको भन्दै प्रशंसा गरे । अब सरकारले साथ दिनेमा पनि आफू विश्वस्त रहेको पनि उनले उल्लेख गरे ।

निर्यात व्यापारलाई उच्च प्राथमिकता राखेर काम गर्न पनि उपराष्ट्रपति पुनले सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा परिषद्ले उत्कृष्ट निर्यातकर्ताहरुलाई सम्मान पनि गरेको थियो ।

साथै, सरकारी तबरबाट निकासी बढाउन कुनै काम भएन भने गुनासो गरिएपनि परिषद्ले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका प्रमुखलाई भने निर्यात प्रबवद्र्धनमा महत्वपूर्ण भूमिका निभाएको भन्दै सम्मानित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्