
पैसा छ, तर घर बनाउन मान्छे पाइन्न
जस्ता र चित्रोले बारेको छाप्रो अघिल्तिर ५५ वर्षीया भीमकुमारी सिवाकोटी भाँडा माझ्दै थिइन् । भूकम्पमा लडेको उनको घरको अवस्था अहिले पनि उस्तै छ । भूकम्पमा उनका एक हल गोरु र बोका मरे ।
सरकारले पीडितका लागि अनुदानस्वरूप बाँडेको ५० हजार रुपैयाँ उनले दसैँअघि नै पाइन् । तर, अझै घरको जग खार्न सकेकी छैनन् । काम गर्ने मजदुर नभेटेपछि उनले घर बनाउन चासो नदिएकी हुन् ।
मजदुरको ज्यालै महँगो
बाथरोगले थलिएको पोखराबारी गाउँका ५० वर्षीय लेखनाथ सिवाकोटी जस्ताको छाप्रो छेउमै बसेर घाम तापिरहेका थिए । उनी पनि घरबारविहीन हुन् ।
उनले ५० हजार रुपैयाँ पाइसके, तर मजदुरको अभावमा उनले घर बनाउन सकेका छैनन् । ‘सरकारले दिने ५० हजार रुपैयाँ पाएँ । तर, घर बनाउन गाउँमा मान्छे नै भेटिन्न, रोगी छु ।
भेटिएका मजदुरले ज्याला महँगो भन्छन् । सरकारले दिएको अनुदानले पुग्दैन । त्यसैले छाप्रोमै बस्दै आएको छु,’ उनले भने ।
पैसाले मात्रै घर बन्दैन
पोखराबारीकै ४५ वर्षीया निर्मला त्रिपाठीको दुईवटा घर भूकम्पमा ध्वस्त भयो । उनी अहिले जस्ताको टहरोमै बस्दै आएकी छिन् । सरकारले बाँडेको ५० हजार रुपैयाँ उनले दसैँअघि नै पाइन् ।
तर, घरको जग खार्न सकेकी छैनन् । गाउँमा मजदुर नभेटेपछि उनले घरको जग खार्न नसकेकी हुन् । ‘घर बनाउन सकिएको छैन । पैसाले मात्रै घर नबन्ने रहेछ ।
गाउँमा मजदुर भेटिन्नन्, भेटिएकाले ज्याला महँगो भन्छन् । त्यसो हुँदा जाडो सहेर छाप्रोमै बस्नु परेको छ,’ उनले भनिन् ।
-नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्