८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


इष्ट टिमोरको पासपोर्टमा ९ सुडानी काठमाडौं कसरी आइपुगे ?


0
Shares

काठमाडौं, असार २३ । मलेसिया हुँदै असार ६ मा ५ बालबालिकासहित काठमाडौं ओर्लिएका ९ जनाको साथमा इस्ट टिमोरको पासपोर्ट थियो ।

उनीहरूले १५ दिनको अन अराइभल भिसा लिए । १२ दिन काठमाडौंमा बसेर उनीहरू असार १८ मा कतार एअरलाइन्सको विमानमार्फत् कतार हुँदै बोस्निया हर्जगोभिना पुगे ।

इस्ट टिमोरदेखि पर्यटकका रूपमा काठमाडौं आएर बसेको घटना कुनै असामान्य घटना थिएन ।

तर काठमाडौंबाट उडेको तीन दिनपछि अर्थात बिहीबार चार बजे तिनै व्यक्ति कतार एअरवेजको विमानमार्फत काठमाडौं नै फर्किएपछि उनीहरूको अन्तर्राष्ट्रिय यात्राको रहस्य खुल्यो ।

इस्ट टिमोरको पासपोर्ट बोके पनि उनीहरू अफ्रिकी देश सुडानका रहेछन् । मानव तस्करको सहयोगमा उनीहरू इस्ट टिमोरको नक्कली पासपोर्ट बोकेर नेपाल आएका रहेछन् । 

अध्यागमन स्रोतका अनुसार मानव तस्करको अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ‘ट्रान्जिट’ बनाएर उनीहरूलाई युरोप छिराउन खोजेको थियो ।

नक्कली र सक्कली पासपोर्ट चिन्ने प्रविधि अभावमा त्रिभुवन विमानस्थलस्थित अध्यागमन डेस्कले सहजै अनअराइभल भिसा दिनुको परिणाम थियो, नौ सुडानीको नेपाल फिर्ताको घटना । बोस्निया हर्जगोभिनाबाट फर्कनेमा ५ महिलासहित ९ सुडानी छन् । उनीहरू दुई वर्षका बालकदेखि ३० वर्षसम्मका छन् ।

फरक देशको नक्कली पासपोर्टमा अनअराइभल भिसा लिएर नेपाल छिर्ने तेस्रो देशबाट पासपोर्टको वैधानिकता नक्कली पुष्टि भएपछि नेपाल नै पुनः फिर्ता भएको घटना यो पहिलो भने होइन ।

यसअघि ४ असारमा बेलायती पासपोर्ट बोकेका ५ पाकिस्तानीले नक्कली पासपोर्टमा सहजै अनअराइभल भिसा हात पारेका थिए ।

केही दिन ठमेलमा बसेर तेस्रो देश उड्ने बेलामा मात्रै उनीहरूले लिएको बेलायती भिसा नक्कली भएको खुलेको थियो । -कान्तिपुर दैनिकबाट