यी हुन् मन्त्रिपरिषद बैठकको आजका निर्णय, मन्त्री केसीको असन्तुष्टि

बुधबारको मन्त्रिपरिषद बैठकले ज्ञवालीले पेस गरेको दोस्रो स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै उनलाई अवकाश दिइ डा. पोखरेललाई नियुक्त गरेको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
अघिल्लो मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पुनःनिर्माणको काममा तीव्रता नआएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको थियो ।
नवनियुक्त डा. पोखरेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षका साथै पुनःनिर्माण प्राधिकरणसम्बन्धी ऐन आउनुपूर्व प्रमुख कार्यकारी अधिकृत थिए ।
बिदाहरु पुनरावलोकन हुने
बैठकले राष्ट्रिय पर्व र चाड बिदाका सम्बन्धमा पुनरावलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।
बुधबार (आज) राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा बिदा माग भएको सन्दर्भमा सरकारले समग्र बिदालाई पुनरावलोन गर्ने भएको हो ।
पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय वा कुन बिदा आञ्चलिकरुपमा दिने भन्ने पनि निक्र्यौल हुनेछ ।
मन्त्री केसीको असन्तुष्टि
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफूले पृथ्वीजयन्ती र एकता दिवसमा बिदा दिन तीनपटकसम्म बैठकमा आग्रह गर्दा पनि निर्णय हुन नसकेको प्रतिक्रिया दिए ।
उनले विश्वका धेरै मुलुकमा जस्तोसुकै तानाशाह भएको भएपनि उसले राष्ट्रिय एकीकरणमा भूमिका निर्वाह गरेको छ भने त्यसलाई सम्मान दिइने प्रचलन रहेको चर्चा गरे ।
निजामती ऐन संशोधनमा लोक सेवाको परामर्श
बैठकले भूकम्पप्रभावित विद्यालयमा पुनःनिर्माणका कामलाई गति दिन अस्थायी दरबन्दीमा कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले निजामती कर्मचारीको उमेर बढाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय भएको जानकारी दिए । रासस