२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


न्यू होराइजन र एसपीए रुस्लान कप क्रिकेटको क्वार्टरफाइनलमा, शंकरको शतक


0
Shares

कुलेश्वर क्रिकेट क्लबलाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै न्यू होराइजनले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

शनिबार कीर्तिपुर मैदानमा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा न्यू होराइजनले शंकर रानाको शतकको मद्दतले १९९ रन बनायो ।

शंकरले ७१ बलमा १४ चौका र ४ छक्काको मद्दतले अविजित रहँदै ११५ रन बनाए ।

जवाफमा २०० रनको विशाल लक्ष्य पछ्याएको कुलेश्वर क्रिकेट क्लबले निर्धारित् २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८६ रन जोड्न सक्यो ।

न्यू होराइजनले क्वार्टरफाइनलमा नेपाली राइनोजको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् शनिबारै भएको अर्को खेलमा वीरगन्जको अनुभूति एजुकेसन फाउन्डेसनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम एकेडेमी (एसपीए) क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।

खेलमा अनुभूतिले प्रस्तुत् गरेको १०३ रनको विजयी लक्ष्य पछ्याएको एसपीएले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

एसपीएलाई विजयी गराउन राजवीर सिंहले अविजित ३३ रनको योगदान गर्दा रोमन बमले २१ रन जोडे ।

एसपीएले क्वार्टरफाइनलमा आइतबार (भोलि) आयोजक रुस्लान केसीटीसीको सामना गर्ने छ ।

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले क्लब भने यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।