जमिनमुनीको पानी निरन्तर घट्दै, काठमाडौं उपत्यका भासिने खतरा « Image Khabar


जमिनमुनीको पानी निरन्तर घट्दै, काठमाडौं उपत्यका भासिने खतरा


Imagekhabar
३ माघ २०७३, सोमबार ०७:१०

भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठका अनुसार आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्योभन्दा धेरै गुणा बढी निकालिएको छ । ‘रिचार्ज हुने पानीको मात्राभन्दा अत्यधिक पानी तानिएकाले सन्तुलन मिलेको छैन, यसबाट भयाभह अवस्था आउन सक्ने सम्भावना छ,’ श्रेष्ठले भने ।

समितिका अनुसार कीर्तिपुरमा ०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो, तर ०७१ पछि ११ मिटरमुनि मात्रै पानी भेटिएको छ ।

ललितपुरको लुभुमा ०५८ सालमा पानीको सतह ३० मिटर मुनी थियो भने ०७१ सालमा ४० मिटर मुनि पुगेको देखिएको छ । मुलपानीमा ०५८ सालमा ३१ मिटर मुनि पानीको सतह थियो, ०७१ सालसम्म पुग्दा ३४ मिटर मुनि पुगेको छ ।

त्यस्तै, पेप्सीकोलामा ०६५ सालमा ३० मिटर मुनी पानी भेटिन्थ्यो भने ०७१ सालमा ३८ मिटर मुनी पुगेको छ । यी क्षेत्रको नमुना परीक्षणका आधारमा विज्ञले उपत्यकाको सतह भासिन सक्ने विश्लेषण गरेका छन् ।

उपत्यकाको जमिन बालुवा र गेग्रानले बनेको कमजोर भु–बनावट भएकाले भासिने खतरा रहेको श्रेष्ठले बताए । ‘जमिनमुनीबाट पानी निकाल्ने तर, पानी जाने अवस्था नभएमा स्वतः खाली भएको भाग भासिन सक्छ, काठमाडौं उपत्यकाको अहिलेको अवस्था यही हो,’ उनले भने ।

भौगोलिक भू–बनावट अनुसार जमिनमुनी पानी रिचार्ज हुन्छ । काठमाडौ उपत्यकामा सबैभन्दा धेरै पानी रिचार्ज हुने क्षेत्रमा अत्याधिक घरहरु बनेपछि समस्या बढेको हो ।

पछिल्ला बर्षहरुमा बर्षा कम भएकाले जमिनमुनी पानी थोरैमात्र रिचार्ज हुने गरेको छ । तर, पानी तान्ने क्रम बढिरहेको छ । ‘काठमाडौ उपत्यकामा वार्षिक एक हजार ५ सय मिलिमिटर वर्षा हुन्छ, आकाशको पानी रिचार्ज भई जमिन जाने हो,’ श्रेष्ठले भने ।

विज्ञहरुका अनुसार उपत्यकाबाट हरेक वर्ष ७० लाख घनमिटर पानी साना ठुला ट्यूवबेल, इनारबाट तान्ने गरिएको छ । भुमिगत जलस्रोत विकास समितिले पानीको सतह मापन गर्न उपत्यकाभर ३० वटा डिप ट्यूववेल राखेको छ । जसअनुसार ०५८ देखि ०७१ सालसम्म चार स्थानको पानीको सतह मापन गरेको छ । विज्ञहरुका अनुसार बाग्मती नदिको दायाँबायाँ क्षेत्रमा धेरै आकाशे पानी रिचार्ज हुन्छ । सबैभन्दा धेरै रिचार्ज हुने क्षेत्रमा टोखा, बुढानिल्कण्ठ, सुन्दरीजल, गोकर्ण, बासबारी, धोविखोली क्षेत्र, साँखु, चोभार र फर्पिङ हुन् ।

यी क्षेत्रमा पनि अहिले जनघनत्व बढेको छ भने धेरै घर बनाइएको छ । –नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्