
यसैदिन निवर्तमान र नवनिर्वाचित राष्ट्रपतिबीच शान्तिपूर्ण सत्ता हस्तान्तरण र बरबुझारथ गरिने कार्यक्रमको आयोजना पनि भएको छ ।
निर्धारित् समय तलमाथि हुन नपाओस् र आगामी शपथग्रहण समारोहका सबै कार्यक्रमहरुमा सानातिना बाधा–व्यवधान पनि आउन नपाइ एकदमै सहज ढंगबाट सम्पन्न होउन् भन्ने उद्देश्यले आइतबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्सलगायत अन्य विशिष्ट व्यक्तिहरु वासिंगटन डीसीको क्यापिटोल हिलमा अवस्थित अमेरिकी कंग्रेसको मुख्यालय क्यापिटोलमा पोशाक अभ्यास (ड्रेस रिहर्सल) कार्यक्रममा सरिक भएका छन् ।
यस छायाँ शपथग्रहण कार्यक्रममा सरिक गराउन आयोजकहरुले एकजना विशेष व्यक्तिलाई पनि निम्तो दिएका छन् । कार्यक्रम अवधिभर यिनी राष्ट्रपति बाराक ओबामाको भूमिकामा प्रस्तुत् हुनेछन् ।
वर्तमान राष्ट्रपति बाराक ओबामाको अनुहार, उचाइ, तौल, छालाको रंग, हाउभाउ, चालढाल, बोलिचालीसँग काटीकुटी दुरुस्तै मिल्ने भएकाले नर्थ क्यारोलिना निवासी, अमेरिकी सेनामा सर्जेन्ट पदमा कार्यरत् यिनै २६ वर्षीय युवकलाई आयोजकहरुले चयन गरेका हुन् ।
आयोजकहरुले यी युवकलाई आफ्नो भूमिका निर्वाह गर्न चयन गरेको कुरो राष्ट्रपति ओबामाले केही दिनअघि थाहा पाएपछि ‘लौ जा ! यिनको कान त मेरो जत्रो ठूलो रहेनछ नि !’ भनी टिप्पणी गर्दा त्यहाँ उपस्थित व्यक्तिहरुबीच हाँसोको फोहोरा छुटेको थियो । रासस/एपी
प्रतिक्रिया दिनुहोस्