
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी प्रतियोगिताको सोमबार भएको सेमिफाइनलमा न्यू होराइजन क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै साविक विजेता पुलिस फाइनलमा पुगेको हो ।
पहिले ब्याटिङ गरेको होराइजनले निर्धारित् २० ओभरमा ९ विकेट गुमाएर ८२ रनमात्र जोड्न सक्यो ।
कृष्ण कार्कीले अविजित २५ तथा शंकर रानाले १६ रन बनाएको इनिङमा बाँकी खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।
‘म्यान अफ द म्याच’ पुलिसका दीपेन्द्रसिंह ऐरीले १५ रन खर्चेर ३ विकेट लिए ।
जवाफमा पुलिसले १७ ओभर ४ बलमै ३ विकेटको क्षतिमा विजय हासिल गर्यो । सुनील धमलाले सर्वाधिक ३६ रन जोडे । यस्तै, आसिफ शेखले अविजित १७ रन जोडे ।
सोमबारै भएको अर्को सेमिफाइनलमा आर्मीले धनगढीको एसपीए क्लबलाई ७० रनले हरायो ।
आर्मीले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १८७ रन बनायो । म्यान अफ द म्याच सागर पुनले ५२ बलमा ७५ तथा राजेश पुलामीले २१ बलमा ५५ रन जोडे ।
जवाफमा एसपीएले निर्धारित् २० ओभरमा ७ विकेटको क्षतिमा ११७ रनमात्र बनाउन सक्यो ।
विजय रानाले सर्वाधिक ३८ रन बनाएको इनिङलाई सस्तैमा समेट्नेक्रममा अविनाश आर्मीका कर्णले ३ विकेट लिए । यस्तै, सागर पुन र जितेन्द्र मुखियाले २–२ विकेट लिए ।
पुलिस र आर्मीबीचको उपाधि भिडन्त मंगलबार कीर्तिपुर मैदानमै हुनेछ ।
प्रतिक्रिया दिनुहोस्