महाभारतकी कुन्ती–७ « Image Khabar


महाभारतकी कुन्ती–७


Imagekhabar
५ माघ २०७३, बुधबार १२:३९

-हरिविनोद अधिकारी

कुरुबंश शिरोमणिका रुपमा रहनु भएका देवव्रत अर्थात भीष्म पितामहको जन्मको कथा पनि कम रोचक रहेनछ । उहाँका विचारमा जीवित कुरुवंशी जो राज्य सञ्चालनमा सक्रिय छ । उहाँमात्र हो र उहाँ नै अब अन्तिम कुरुवंशी पनि हुनुहुन्थ्यो रे । किनभने जब उहाँका सन्तान भएनन् । शन्तनुका कुनै पनि छोराका सन्तान वैधरुपमा भएनन् भनेपछि उहाँ नै अन्तिम कुरु हुनुभयो रे । उहाँ पनि त स्वर्गबाट श्रापित गंगाको कोखबाट जन्मनु भएको रहेछ त । कुरो त स्वर्गको विवादको रहेछ । स्वर्गको एउटा विशेषता के देखियो भने त्यहाँ जायजन्म हुँदो रहेनछ । भोग विलास त्यो पनि जोसँग जसले पनि हुने जस्तो देखियो । त्यस्तै भयो रे मेरो छोरो अर्जुनसँग पनि । मेनकाले अर्जुनलाई मन पराएपछि अर्जुनले भनेछ-तपाईं त मेरी जिज्यूआमा पो हुनुहुन्छ शकुन्तलाकी आमा, हाम्रो धरोहर पुर्खा भरतकी हजुरआमा । म कसरी हजुरको इच्छाबमोजिम आफूलाई समर्पण गर्न सक्छु र ? यसो भनेपछि मेनका रिसाएर पुँस्त्व नभएको लाछी भन्दै नपुंसक जीवन बिताउने श्राप दिएपछि त्यही श्रापलाई इच्छाबमोजिम विराट राजाको दरबारमा गुप्तबास बस्दा बृहन्नलाको रुपमा संगीत, नाटक, गीत गाउन र नृत्य सिकाएछ । त्यो बेलामा एकवर्ष करिब करिब उभयलिंगीको रुपमा समय व्यतित गरेछ । त्यही भएर जब कंकको रुपमा आफ्नो पहिचान लुकाएर युधिष्ठिर बसेको थियो ।

उत्तरले युद्ध जितेको समाचार पाएपछि विराटले भनेछन्मे-रो छोरो क्या बहादुर । कौरबको सेनालाई हराएर आयो । अनि युधिष्ठिरले भन्यो रे-जहाँ बृहन्नला छन्, त्यहाँ युद्ध हार्ने कुरै छैन । अनि विराट राजाले भनेछन्, उत्तराका पिताले–के भनेको कंक तिमीले, त्यो नपुंसकले कसरी मेरो युवराजलाई सहयोग गर्न सक्छ ? त्यो त घोडाको सयस भएर पो गएको हो त । अनि फेरि विराटलाई कंकरुपी युधिष्ठिरले भन्यो रे–होइन, कहाँ हुनु त्यो ठूलो धनुधारी थियो रे त युधिष्ठिरको दरबारमा । विचरा उत्तर ,युवराजले त कौरवको सेना देख्ने बित्तिकै सातो गयो होला । एउटा नपुंसकको वयान गरेको देखेर अनि त्यही बेलामा रिसले पासा खेल्दै गरेका विराटले पासाले नै कंकलाई हिर्काएछन् रे नाकबाट रगत आउने गरी । फेरि कस्तो थियो भने यदि युधिष्ठिरको रगत कसैले बिनाकारण हिर्र्र्काएर पृथ्वीमा झर्‍यो भने त्यो ठाउँ खरानी हुन्थ्यो अनि युधिष्ठिरको पहिचान खुल्थ्यो । तत्कालै द्रौपदी जो त्यहाँ सैरेन्ध्री भएर बसेकी थिइन् रुपवती विराट राजाकी रानी सुदेष्णाकी, उनले थाहा नपाएजस्तो गरी कोपरामा रगत थापिछन् रे । त्यस्तो हुँदो रहेछ स्वर्गमा । भएछ पनि त्यस्तै ।

ब्रह्माजीले गंगालाई पृथ्वीमा गएर मानवी हुने र बच्चा पाउने श्राप दिनु भयो । स्वर्गमा बसेका राजा महाभिषसँगको प्रेम प्रसङ्ग इन्द्र र ब्रह्मालाई मन परेनछ र श्रापित हुनुपर्‍यो । आठ बसु पनि त्यसमा मुछिएछन् । पृथ्वीमा गएर आठै बसुकी आमा भएर उनले बस्नु पर्ने भयो । पछि ब्रह्माजी खुसी भएर सातजना बसुलाई तत्कालै श्रापमुक्त हुने तर द्यु वसुले चाहिं लामै समय पृथ्वीलोकमा बस्नु पर्ने नियति कोरिएछ अनि द्यु बसुले भनेछन् रे–म गंगाको कोखबाट पृथ्वीमा जन्मन पाउने भएँ । त्योे राम्रै भयो तर त्यहाँ जति बसे पनि म सन्तान पाउने छैन । किनभने गंगामा अचानक यौनेच्छा बढेको देखियो रे । अनि स्वर्गमा बसेका राजा महाभिषसँग उनको प्रेमपूर्ण हिमचिम बढेकोले उनीचाहिँ प्रतीप महाराजका छोरा शान्तनु भएर जन्मनु पर्ने देखियो रे ।

जब पृथ्वीमा जानु नै छ, कुनै महामना राजाको रानी भएर सन्तान पाउनु नै छ भने किन राजा प्रतीपसँग नै बिहे नगर्ने ? काम चाँडो सिध्याएर फेरि स्वर्गमा नै आउने लालसाले गंगा राजा प्रतीप र रानी पुत्रेष्टि तपस्यामा हरिद्वारमा बसेको ठाउँमा नै गएर थ्याच्च राजाको काखमा बसिछन् रे । त्यसरी कोही स्वर्गकी अप्सरा जस्तै कोमलाङ्गी काखमा बसेपछि राजाले जब आँखा खोले अनि देखे कुनै अप्सरा जस्तै देदीप्यमान स्त्री उनको दाहिने काखमा बसेकी छिन् र भन्छिन्–राजा, मलाई छिटो बिहे गर र चाँडै आठओटा छोराको आमा बनाऊ । म तिमीप्रति आसक्ति भई नै सकें । राजा प्रतीप काम वासनालाई नियन्त्रण गर्नसक्ने खालका थिए र भने–तपाईं को हो मलाई थाहा छैन । तर मसँग याचना गरेपछि याचनालाइै म निरर्थक हुनदिन्न । अहिले तपाईं मेरो दाहिने काखमा बस्नु भएकाले यो काख त छोरी, बहिनी, भाइ बुहारी, छोरा बुहारी, नातिनी बुहारी, नातिनी, पनातिनीका लागि हुन्छ । यदि देब्रेतिर बस्नु भएको भए मैले बिहे गर्नु नै पथ्र्यो । त्यसो हुनाले अब केही वर्ष पख्नुस् र मेरो छोरो जन्मनेछ र त्यसले तपाईंलाई बिहे गर्नेछ । पुत्र बधुको रुपमा भने म अहिले नै स्वीकार गर्न सक्छु । गंगा जो पछि देवव्रतकी आमा हुनुभयो । उहाँले छक्क पर्नुभएछ र प्रतीपका छोरा शान्तनुसँग बिहे भएछ । त्यसको पनि कथा अर्कै रोचक छ भनेर हामीलाई बुढी सासू योजनागन्धा वा सत्यवतीले भन्नुहुन्थ्यो ।

स्वर्गका प्रेमी राजा महाभिषचाहिं युवराज शान्तनु भएर जन्मनु भएछ । राजा प्रतीपको प्रताप र वचनबद्धतालाई गंगाले बिर्सने कुरै थिएन । शान्तनुलाई भने यो सबै पूर्वजन्मको कुरा याद त भएन तर लेखान्त टर्ने कुरै भएन । टरेन  एकदिन गंगाको रुप र छटाले मोहित भएका राजा शान्तनुले गंगालाई आफ्नू पार्न सबै खालका कोसिस गर्नुभएछ । दुवै अत्यन्त राम्रा । गंगाको त कुरै भएन । भगीरथले शिवजीसँग वरदानको रुपमा ल्याएकै हुनुहुन्थ्यो यो संसारमा । उहाँ यतै प्रवाहित नै हुनुहुन्थ्यो । तर उहाँमा रुप बदलेर मानवीय स्वरुप प्राप्त गर्ने कला छँदैथियो । मैले योचाहिं अचम्भै लागेको छ किन स्वर्गमा जायजन्म हुँदैन ? मैले पनि इन्द्रलाई बोलाएर नियोग गरेकी हुँ र अर्जुन पाएकी हुँ । तर स्वर्गमा त्यतिका अप्सरा छन् । तिनले पृथ्वीमा आएर नै सन्तान पाउँछन् । हाम्रै गुरु द्रोण हुन् वा उनकै ब्राह्मणी कृपी हुन् या उनका युग्म दाजु कृपाचार्य हुनुहोस् । हाम्रै कुल शिरोमणि भरतकी माता बुढी सासू शकुन्तला नै किन नहुनुहोस् । तर अचम्भ के छ भने कोही पनि ती सन्तान पाल्ने कुरामा वास्ता गर्दैनन् । के प्रेमको चिनो त्यत्तिकै बिर्सन सकिन्छ र ? मलाई अहिले पनि त्यो कर्णको जन्म याद आइरहन्छ । युधिष्ठिर, भीम, अर्जुन, अनि माद्रीको कोखबाट जन्मिएका नकुल र सहदेवको याद आइरहन्छ ।

जेठाजुलाई सबैभन्दा बढी आफ्नै माता अम्बिकासँग रिस उठेको जस्तो लाग्थ्यो । उहाँको हैसियत त महाराज पाण्डुको युवराजको जस्तो थियो । अड्को पड्को तेलको धुप जस्तै । दृष्टिविहीन भएका कारणले राज्यको पहिलो व्यक्ति हुन नपाएकोमा आफूमाथि महारानी सत्यवती, पितामह भीष्म र व्यासबाट पनि अन्याय भएको कुराको असन्तुष्टि खासगरी दिदीसँग पोख्नु हुन्थ्यो रे र भन्नुहुन्थ्यो रे-वास्तवमा तिम्रो बिहे त पाण्डुसँग हुनुपर्ने । गान्धार नरेशकी छोरी दासी जस्तै दोस्रो दर्जाकी नानी जस्तै हुनुपर्‍यो । तर दिदीमा भने कुण्ठाभन्दा कर्तव्यको मात्र बढी देखिन्थ्यो । तर दिदीलाई पनि एउटा कुरा भने लागेको थियो–यदि दिदीले छोरो पहिले पाएमा राज्यको उत्तराधिकारी को होला ? दिदीको छोरो कि पाण्डुपुत्र ? त्यो बेलामा कोरा कल्पना नै थियो किनभने दिदी, म र माद्री कसैको पनि जायजन्म हुन सकेको थिएन । त्यसैले पनि पाण्डु महाराजमा चाँडै छोरा पाउन पाए राज्यको उत्तराधिकारी आफ्नै सन्तान हुन पाउँथ्यो । पितामहमा पाण्डुप्रति अलि बढी नै मोह देखिन्थ्यो । भाइ विदुरमा पनि दाजु पाण्डुप्रति अलि बढी नै मोह र भर गरेको देखिन्थ्यो । जेठाजु महारानी अम्बिकालाई गाली नै गर्न पनि तयार हुनुहुन्थ्यो किनभने किन उहाँले नियोगको बेलामा आँखा चिम्लेको त ? यो नियति थियो र कोही पनि नियतिभन्दा न त अघि हुनसक्थ्यो, न त पछि पर्न सक्थ्यो । सबै त नियतिको निमित्त नायकमात्र त थिए ।

माता सत्यवतीको जन्म र जीवनी पनि उत्तिकै रोचक देखिन्थ्यो । तर कहिल्यै पनि राजमाताले चुइँक्क कुनै कुरा बाहिर ल्याएको होइन । दरबार त यस्तो ठाउँ हुँदो रहेछ कि नानाभाँति कुराहरु उब्जन्छन् अनि त्यहीं आफैँ हराउँछन् । के ठिक, के बेठिक थाहा पाउन पनि हल्लाको भरमा पर्नु जरुरी हुन्छ किनभने दरबारका मान्छेको जनतासँग पहुँच हुँदैन र जनतामा के प्रभाव छ भन्ने कुरा या त महाराजहरुको भ्रमणमा अनभिज्ञ नागरिकले भन्ने गर्छन् । या त समूहले विद्रोह गर्दा आउने परिणामलाई केलाउँदा बल्ल थाहा हुन्छ । त्यसैले पाण्डु महाराजको साँझ परेपछि सहर घुम्न जाने चलन थियो जनताका कुरा बुझ्न । उहाँको धारणा थियो–म नियतिले महाराज भएको हुँ । यो गद्दी वास्तवमा पितामहको मात्र हो । उहाँले पनि मायाले भन्दा पनि बाध्यताले मलाई सिंहासनमा राख्नु भएको हो । यसको मैले सदुपयोग गर्नुपर्छ र जनताको दुःखमा रुने र मलम लगाउने अनि जनताको सुखमा उनीहरुसँगै रमाउन सक्नुपर्छ ।

खोइ किन हो, हामी रानीहरुसँग रमण गर्न नपरोस् भनेर हो कि या जनताको मायाले नै हो तर रातमा दरबारमा बस्ने बानीचाहिँ थिएन । भन्नचाहिँ भन्नुहुन्थ्यो–राजधानीमा भन्दा जनताका घरदैलोमा पुग्दा बल्ल जनताको यथार्थ कुरा थाहा हुन्छ । अनि त शन्तनु महाराजको भन्दा कति गुणा राज्य विस्तार भएको थियो । सबै खुसी थिए मात्र जेठाजुबाहेक । जेठाजु भन्नुहुन्थ्यो–दरबारमा बसेर न्याय दिनु पो राजको काम , सधैं बाहिरमात्र कति जान्छन् पाण्डु ? पाण्डृको पनि उत्तर बनीबनाउ नै हुन्थ्यो–म त हजुरको दास हुँ, हजुरलाई राज्यको शासन गर्न नदिने भएपछि मैले बाध्यतावश जिम्मा लिएको । न्याय अन्यायको जिम्मा त हजुरको हो, म हजुरको फैसला र निर्णयलाई पञ्जाछाप लगाउने मात्र हुँ । अनि जेठाजु खुसी भएर दण्डाधिकारीको काम गर्नुहुन्थ्यो तर पितामहलाई खोइ किन हो जेठाजुको व्यवहार मन पर्दैन थियो किनभने पितामहलाई नै घोचपेच गरिरहनु हुन्थ्यो । पितामह आकाश जस्तै हुनुहुन्थ्यो शान्त, धीर, गम्भीर तर मेघ गर्जेजस्तै कहिले गर्जने र बर्सने पनि । तर शान्त, शान्तनुका पुत्र । शान्तनवे । केही सोचेरहे जस्तो, केही भित्र गुम्सिएर रहे जस्तो । केही गलत गरेपछि प्रायश्चित गर्नका लागि तयार भए जस्तो । आखिर सबै कुरा पूर्वजन्ममा नै तय भएको रहेछ नि त । यहाँ त सबै निमित्तमात्र पो रहेछन् ।

विचरा विदुर, उनले वेद पढ्न पाएनन् किनभने शूद्र भनेर व्यासले पढ्न नदिएको रे भन्थे दासीहरु । दरबारमा सबै कुराको जड पनि दासीहरु नै हुन् । जानकारी पनि उनीहरुलाई नै बढी हुने किनभने दासीहरुको सम्बन्ध राजा महाराजादेखि अनुचरसम्म पनि हुन्छ । यसको कारण पहुँच पनि हो । पहुँच हुने धेरै कारणहरुमध्ये उनीहरुले सबैलाइ दिने सेवाको कारणले पनि हो । उनीहरुको सेवाको कुनै सीमा छैन र त्यसको सीमा कोर्न थाल्यो भने दरबारमा त्यसले अरु उपद्रो निम्त्याउँछ । वास्तवमा दासीहरुले नै हो सयसदेखि महाराजसम्मको चाहना पुर्‍याउने । आन्तरिक र वाह्य चाहना सबै । त्यसैले हामीले सम्पूर्ण सूचनाको श्रोत दासीहरुलाई नै मान्नु पर्ने हुन्थ्यो । तर पाण्डु महाराजका वारेमा कुनै पनि दासीले आजसम्म छोएको पनि कुरा गरेनन् र कुनै सेवाको पनि चाहना गरेको देखिएन । मैले पकाएको मात्र खाने, माद्रीले लगाएको लुगा या गहना वा कबचमात्र भिर्ने । एउटा अचम्भको बानी थियो । म यताउता हुँदा माद्रीले पकाएको मात्र खाने । नभए आफैँ पकाउने , खाने अनि भाँडा माझ्ने । यसको कारण थियो दासीहरुको कुनै सम्पर्क हुन नदिने आफूसँग । सायद त्यसैले होला उहाँका कतिपय कुरा मलाई र माद्रीलाई पनि थाहा हुँदैन थियो । गोप्य राख्न सक्ने । उहाँको विचार मात्र राज्यको विस्तार थियो र त राज्य हिमालयदेखि कन्याकुमारीसम्म नै विस्तारित थियो रे । तर त्यो बेलामा राजाहरुलाई स्वतन्त्रता थियो आफ्नो आफ्नो राज्यको विस्तार गर्न । कुरो एउटै न हो, आखिर । चक्रवर्तीको राज्य सबै हुने भयो, भुरे टाकुरे थपिउन् या घटुन् ।

उहाँले मान्ने भनेको पितामह, व्यास, जेठाजु, दिदी, सासूहरु । भन्नुहुन्थ्यो पितामहसँग–यसो जानु पर्ने कुन्तीलाई लिएर ब्रजतिर, अनि माद्रीलाई लिएर मद्रतिर शल्यले आउनु भनेको भन्यै हुनुहुन्छ । तर फुर्सद नै छैन । जान त हामी पनि जान्थ्यौं राज्य विस्तारको बेला तर खासै लडाईंचाहिं हुँदैनथ्यो । ती राज्यका राजा आएर शरणागतको याचना गर्थे अनि उनको राज्य उनैको हुन्थ्यो तर राज्यको मुख्य राजा , महाराजाचाहीं पाण्डु नै हुने चलन थियो । अझ कुरुवंशीको अधीन भन्ने हुन्थ्यो । नाम त धृतराष्ट्र, पाण्डुको हुन्थ्यो राजा र महाराजामा तर खासमा पितामहको नै अधीनमा सम्पूर्ण अधिराज्य थियो । सबैका लागि भीष्म एउटा भय, त्रास, निर्भर र त्राण हुनुहुन्थ्यो । सभ्य र शिल्पी मानवका लागि मात्र होइन, भिल्ल, निषाद र बनचरहरुका लागि पनि भीष्मको नाम भनेको त्राणको आधार थियो । जलचर, नभचर र उभयचर सबैका लागि राजाको अधीन स्वीकार हुने हुनाले तिनको पनि आधार भनेकोे राजा नै हुन् भन्ने पितामहको धारणा थियो र त्यसलाई पाण्डुले पछ्याउनु भएको थियो । त्यही कुरा पछि युधिष्ठिरले पनि गरेको जस्तो लाग्छ किनभने जमिन, पानी, जंगल र आकाश सबैमा हस्तिनापुरको राज्यमा न्याय हुनुपर्छ भन्थ्यो र मैले पनि सधैँ बाबु बाजे बराजुको प्रतिष्ठाका लागि सम्झाइरहेकी हुन्थें ।

झन मेरी बुढी सासुको जन्मको कथा त पत्याउने हो कि नपत्याउने हो जस्तो पो थियो त । माछाको पेटबाट निस्कनु भएको रे । के होला त त्यो ? त्यो पनि उहाँकै छोरा व्यासले भनेपछि त पत्याउनु नै पर्‍यो । धीवरले जब माछा जालमा पारेर ल्याएछ , अनि अलि ठूलो माछा देखेर आज त सबै परिवारलाई खान पुग्ने भयो भनेछ र काट्न थालेछ । सामान्यतः माछा काट्दा पहिले पेट चिर्ने चलन थियो रे, अनि पेट चिर्दा त एउटा बच्ची पो आरामसँग आमाको कोखमा बसेजसतो बसेकी । क्रमशः….

प्रतिक्रिया दिनुहोस्