काठमाडौं, फागुन २९ । सभामुख कृष्णबहादुर महराले तराई–मधेस तथा थरुहट आन्दोलनको छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा पनि राष्ट्रिय जनता पार्टी नेपालका सांसदले आफ्ना स्थानबाट उठेर अवरोध पुर्याएपछि सभामुखले राजपाको मागअनुरुप आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न/गराउन सरकारलाई ‘रुलिङ’ गरेका हुन् ।
सभामुखले भने–‘मैले अघिल्लो बैठकमा पनि सरकारको गम्भीर ध्यानकर्षण गराएको थिएँ । सरकारका तर्फबाट पनि जवाफ आएको थियो । उक्त आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न/गराउन म निर्देशन दिन्छु ।’
सभामुखको निर्देशनपछि राजपाका सांसदले आ–आफ्नो स्थान ग्रहण गरेपछि सदनको बैठक अहिले सन्चालन भएको छ ।
प्रतिनिधिसभाको अघिल्लो बैठक राजपाको विरोधका कारण स्थगन भएको थियो । रासस









प्रतिक्रिया दिनुहोस्