दीपक घिमिरे (इमेज)
भैरहवा, फागुन २८ । सरकारसित ११ बुँदे सहमति गरेर जनकपुर पुगेका सीके राउतले सार्वजनिकरुपमा कुनै प्रतिक्रिया नदिइरहेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’का नाममा सो समूहको रुपन्देही शाखाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
मंगलबार भैरहवामा पत्रकार सम्मेलन गर्दै सो समूहले आफूहरुले स्वतन्त्र मधेसको ‘बटमलाइन’ नछाडेको र सोही ‘म्यान्डेट’अनुसार अघि बढ्ने बताएको हो ।
सो समूहका रुपन्देही संयोजक भूपेन्द्र यादवले ‘रोडम्याप’अनुसारको लक्ष्य प्राप्तिका लागि संसदीय प्रणालीबाट अघि बढ्ने बताए ।
सहमतिले आफूहरुलाई ‘मधेस स्वराज’को अभियान चलाउन छुट दिएको दाबी गर्दै यादवले भने–‘सरकारसँग भएको सम्झौतामा स्वतन्त्र मधेस वा स्वाराजको मुद्दा त्याग्ने विषयमा स्पस्ट केही लेखेको छैन । त्यसैले हामी शान्तिपूर्णरुपमा आफ्नो एजेन्डाअनुरुप काम गर्नेछौं ।’
स्वतन्त्र मधेस गठबन्धन ‘अनरिप्रिजेन्टेड नेसन्स एन्ड पिपुल्स अर्गनाइजेसन’को सदस्य बनिसकेको र अब राष्ट्रसंघमा प्रतिनिधित्व गराउनका लागिपनि सरकारसँगको सहमतिले बाटो खोलेको दाबीसमेत सो समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मधेसवादी दलहरुले थारु समुदालाई छुटाएको आरोप लगाउँदै ‘स्वतन्त्र मधेस गठबन्धन’ले मेचीदेखि महाकालीसम्मको भू–भागलाई समेट्ने र रेशम चौधरीलाई न्याय दिलाउने पहल गर्नेसमेत उल्लेख गरेको छ ।
सरकारसितको सहमति कार्यान्वयन भए मधेस र सम्रग देशको समृद्धि हुने पनि उनीहरुले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्