Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


प्रधानमन्त्री र मोरिससका पूर्वराष्ट्रपति बीच भेटबार्ता, लण्डनका मेयरले पनि भेटे


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, संविधान कार्यान्वयनलगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा मोरिससका पूर्वराष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिकढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा सहभागी भएकोमा सराहना गरेका थिए ।

उनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले यसका अनुभव अन्तराष्ट्रियरुपमै आदान–प्रदान गर्न आफूहरु इच्छुक रहेको बताएका थिए ।

त्यस क्रममा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायले पुर्‍याएको योगदानको सराहना गर्दै अहिले आफूहरु प्राप्त उपलब्धीलाई संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभएका प्रधानमन्त्रीका परराष्ट्रसम्बन्धी सल्लाहकार ऋषिराज अधिकारीले बताए ।

यसैबीच आजै प्रधानमन्त्री दाहालसँग बेलायतको लण्डनका मेयर डा. एन्ड्रयू पार्मलीले पनि भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंंहदरबारमा भएको भेटवार्तामा लन्डनका मेयर पार्मलीले नेपालको संविधान कार्यान्वयन र पुनर्निर्माणमा प्रधानमन्त्री दाहालले गरेको कामको प्रशंसा गरेका थिए ।

त्यस क्रममा नेपाललाई दिँदै आएको बेलायती सहयोग र जलविद्युत् क्षेत्रमा लगानीको सम्भावनाका विषयमा समेत छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन, राजनीतिक स्थिरता, विकास र आर्थिक सम्वृद्धिका लागि आफ्नो ध्यान गएको भन्दै नेपालको शान्ति, संविधान निर्माण र पुनर्निर्माणमा प्राप्त अन्तर्राष्ट्रिय सहयोगप्रति आभार व्यक्त गरे । उनले जलविद्युतसहित ठूला परियोजनामा लगानी गर्न आग्रह गरे ।