
काठमाडौं, असार २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा केही पनि भएन भन्नु सहिदको अपमान भएको जिकिर गरेका छन् ।
योगमाया सामाजिक आन्दोलन शतवार्षिकी तथा ७८औं स्मृतिदिवस समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनलगायतका क्रान्तिको फलस्वरुप महिला सहभागिता संवैधानिकरुपमा नै सुरक्षित भएको बताए ।
‘मुलुकमा केही पनि भएन, फेरि आन्दोलनमा जानुपर्छ’ भन्नु वैज्ञानिक विश्लेषण नभएको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले राज्यको नीति निर्माण गर्ने तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्व त्यसै सुरक्षित नभइ आफूहरुकै आन्दोलनको उपज भएको दाबी गरे ।
राणाशासनविरुद्ध सामाजिक क्रान्तिको नेतृत्व गरेकी योगमायाको बलिदान खेर नगएको भन्दै उनले ‘जनयुद्ध’मा आफूले उनका कयौं अनुयायीहरूको बलिदानी र उत्तराधिकारीहरू देखेको बताए ।
उनले योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्ने पनि बताए ।
दक्षिण एसियाको सन्दर्भमा नेपाल सबैखालका अधिकारमा अगाडि रहेको जिकिर गर्दै अध्यक्ष दाहालले विभेद र असमानताविरुद्धको युद्ध अझै बाँकी रहेको बताए ।
कार्यक्रममा प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरे ।
उनले आफू नेतृत्वको सरकारले उनको योगदानलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक बजेटको व्यवस्था गरेकोसमेत बताए ।
प्रतिक्रिया दिनुहोस्