काठमाडौं, फागुन २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा खुल्लमखुल्ला बिखण्डनकारी नारा घन्किएकोमा चिन्ता प्रकट गरेका छन् ।
सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिकाबारे राजनीतिक बृत्तमा अनेक आशंकासहितका प्रश्न उठिरहेको समयमा गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सिके राउतसँग ‘जनमत संग्रह’बारे कुनै सम्झौता नभएको प्रष्ट्याएका थिए । आइतबार उनले सांसदको प्रश्नको जवाफ दिँदै सिके राउत देशको अखण्डताको पक्षमा आएको दावी गरेका थिए ।
आइतबार नै सिके राउत जनकपुर पुग्दा उनका समर्थक तथा कार्यकर्ताले उनलाई ‘फ्रि मधेस’ को झण्डासहित स्वागत गरेका थिए ।
त्यसलगत्तै नेकपा प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस कसरी र कि भइरहेको छ ? यो हद भयो, असह्य भयो । बिखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि बिखण्डनवादलाई बैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु. कदम चाल्नुपर्छ । गम्भीर बनौं ।’










प्रतिक्रिया दिनुहोस्