५४ वर्षदेखि भारतमा रहँदै आएका एक चिनियाँ सैनिकको मर्मस्पर्शी पीडा • Image Khabar Image Khabar


५४ वर्षदेखि भारतमा रहँदै आएका एक चिनियाँ सैनिकको मर्मस्पर्शी पीडा


Imagekhabar
१८ माघ २०७३, मंगलवार १२:४०

५४ वर्षदेखि भारतमा रहँदै आएका एक चिनियाँ सैनिकको मर्मस्पर्शी पीडा

प्रस्तुत छ, उनले भोगेको पीडा उनकै शब्दमा–

मेरो नाम वाङ्ग छी हो, मेरो उमेर ७७ वर्ष भयो । म चीनको शियानयाङ्ग सहरमा जन्मिएको थिएँ तर ५४ वर्ष भारतमा बिताइसकेपछि अब म कहाँको हुँ भनौं ? म मर्नुअघि एकपटक चीन जान चाहन्छु । प्रधानमन्त्रीहरुलाई चिट्ठी लेख्नेदेखि लिएर अदालतको चक्कर काट्नेसम्म मैले सबै गरेँ तर कुनै फाइदा भएन ।

मेरो कथा कुनै उपन्यास वा चलचित्रभन्दा कम छैन । जसरी मेरो उमेर ढल्दैछ, मलाई चीनमा बितेका मेरा बाल्यकालको सम्झना उत्ति आइरहेको छ, तर अब त्यो पनि धमिलो भइसक्यो ।

म एक गरिब परिवारमा जन्मिएको थिएँ । मेरो पिता किसान हुनुहुन्थ्यो । हाम्रो परिवार अचेलको चिनियाँ परिवारजस्तो सानो थिएन । हामी पाँच दाजुभाई थियौं, दुई दिदीबहिनी थिए । म आमाबुवाको माहिलो छोरा हुँ । अब त म चीनमा बिताएका पल भुल्न थालिसकेको छु ।

५४ वर्षदेखि भारतमा रहँदै आएका एक चिनियाँ सैनिकको मर्मस्पर्शी पीडा

बाइकमा चढेको यो तस्वीर सन् १९५९ को हो । त्यतिबेला म शान्सी प्रान्तीय सरकारको खेलकुद विभागमा काम गर्दथेँ । बाइकमा मसँग स्थानीय एक कर्मचारीकी छोरी हुन् । उनको नाम मलाई अहिले सम्झना छैन । यही समय मैले गाडी चलाउन सिकेको थिएँ ।

मैले मेहनतका साथ प्राविधिक तालिम लिएँ, त्यसपछि १९६० मा चिनियाँ सेनामा सामेल भएँ । सेनाको बर्दी लगाएर म धेरै खुशी भएको थिएँ । त्यतिबेला नै मैले खिचेको यो तस्वीर हो ।

५४ वर्षदेखि भारतमा रहँदै आएका एक चिनियाँ सैनिकको मर्मस्पर्शी पीडा

म सेनामा भर्ती हुँदा मेरो पिताको निधन भयो । तर परिवारले मलाई यो कुरा लुकाएका रहेछन् । परिवारबाट टाढा हुँदा धेरै दुःख लाग्थ्यो तर के थाहा कि सँधैका लागि परिवारबाट टाढा बस्नुपर्ने रहेछ ।

कुरा जनवरी सन् १९६३ को हो । मेरो भाग्य अचानक सँधैका लागि बदलियो । मैले बाटो भुलेँ, पहाड र जंगलको बाटो हिँड्दा हिँड्दै भारतको तवाङ्ग क्षेत्रमा पुगेछु जो अरुणाचल प्रदेशमा छ । त्यहाँ मैले भारतीय रेडक्रसको जिप फेला पारेँ । उनीहरुले मलाई भारतीय सेनासमक्ष जिम्मा लगाए । भारतीय अधिकारीहरुका अनुसार म गैरकानूनी रुपमा भारत प्रवेश गरेका थिएँ ।

म सेनामा भर्ती भएको दुई वर्ष नबित्दै अक्टोबर १९६२ मा भारत र चीनबीच युद्ध सुरु भयो । म सीमामा तैनाथ थिएँ । भारतीय सेनाको नियन्त्रणमा पुगेपछि मलाई युद्धबन्दी बनाइयो । मलाई पहिला दिसपुर आर्मी क्याम्प र पछि दिल्ली पठाइयो । म तीन वर्षसम्म मेरठ र अजमेरको जेलमा बस्दा आफ्नो भविष्य के होला भन्ने सोच्ने गर्दथेँ । त्यसपछि मलाई पञ्जावको नाभा जेलमा पठाइयो । त्यतिबेला सम्म मलाई थाहा थिएन कि, भारत मै अब मेरो वर्तमान र भविष्य दुबै हुनेछ । म सोच्थेँ, ‘अब जीन्दगीमा के गरौं ? यता बस्दा मारपिट, उता जाउँ भने के हुने हो ? यो पीडा कहिलेसम्म सहुँ ?’

विदेशी भूमि, अलग भाषा र दुश्मन देशको सेना भएका कारण जति कष्ट हुन्थ्यो, त्यो सबै मैले झेलेँ । चन्डीगढ उच्च अदालतमा मेरो मुद्दा चल्यो र मलाई रिहा गरियो । १९६९ मा मलाई तिरोडीमा रिहा गरियो । मलाई चीन किन पठाइएन ? यो कुरा मैले बुझ्न सकिरहेको थिइनँ । कुनै यस्तो दिन गुज्रिएन जब मैले परिवारको सम्झना नगरेको होस् ।

अब यहीँ मेरो घर भयो, बस्दा बस्दै मैले अलि अलि हिन्दी पनि सिकेँ । यतिका वर्ष बित्यो तर चीन जानका लागि ‘एक्जिट भिषा’ को प्रतीक्षा सकिएको छैन । मैले चपस्टिक्स किनेँ, मलाई चिनियाँ खानाको सम्झना आउँछ । तर यहाँ तिरोडीमा कसरी पाउनु ? आजसम्म हातले दालभात खान आउँदैन ।

त्यतिबेला तिरोडीको रोडमा मारवाडी साहु इन्दरचन्द जैनको गहुँ पिस्ने मिल थियो । प्रहरीले मलाई उनकै जिम्मा लगाएको थियो । साहुले नै मलाई राजबहादुर नाम राखिदिएका थिए । मैले एक हप्तामै काम सिकेँ । नजिकैको एउटा झोपडीमा बस्न थालेँ । पुरै मेहनत र इमानदारीसाथ काम गर्दथेँ । म ५० किलोमिटरसम्म साइकल चलाएर बालाघाट पुग्थेँ । मैले गाई पालेँ, दुध बेचेर गुजारा गर्न थालेँ । मेरो खर्च धेरै थिएन । पैसा जोगाएर मैले आफ्नो एक पसल खोलेँ । कयौंपटक प्रहरीसँग मेरो झगडा पनि भयो । उनीहरुले मलाई निर्घात पिटे तर घुस दिन म तयार भइनँ ।

म आमालाई निरन्तर पत्र लेख्थेँ । तर ती पत्र फिर्ता आउँथे, आमासम्म पुग्दैनथे । म सोच्थेँ, मेरो सम्झनाले आमा कति रुन्छिन् होला ! यस्तो सोचेर म पनि रुन्थेँ । धेरै वर्षपछि एयरमेलबाट पठाएको एउटा पत्र आमासम्म पुग्यो र त्यसको जवाफ पनि आयो । त्यसमा लेखिएको थियो कि म जिउँदै भएको खबर सुनेर आमाको आधा रोग निको भयो ।

५४ वर्षदेखि भारतमा रहँदै आएका एक चिनियाँ सैनिकको मर्मस्पर्शी पीडा

मेरो अनुरोधअनुसार अर्कोपटक पत्रका साथमा आमाको एउटा तस्वीर पनि आयो । आमासँग सन् २००२ मा मोबाइलबाट कुरा भयो । आमाले मलाई भन्नुभयो, ‘छिटो आइज, मर्नुअघि तलाई एकपटक हेर्न पाऊँ ।’

तर मैले आमाको त्यो अन्तिम इच्छा पुरा गर्न सकिनँ । मेरो तस्वीर हेर्दा हेर्दै सन् २००६ मा आमाले हमेसाका लागि आफ्नो आँखा बन्द गर्नुभयो ।

म गाउँमा एक्लै थिएँ । त्यसैले मलाई बिहेको दबाब बढ्न थाल्यो । एक इशाइ युवती मलाई राम्रो लाग्यो तर धर्मले रोक्यो ।

५४ वर्षदेखि भारतमा रहँदै आएका एक चिनियाँ सैनिकको मर्मस्पर्शी पीडा

आखिर सन् १९७५ मा महार समुदायकी युवती सुशीलासँग एक प्रकारले जबर्जस्ती मेरो बिहे गराइयो । यो बिहे न मेरालागि सजिलो थियो न गरिब परिवारकी सुशीलाका लागि नै । मानिसहरुले उनलाई सम्झाइ–बुझाइ गरे । हामी एक–अर्कासँग कुरा पनि गर्न सक्दैनथ्यौं । केही महिना यसैगरी बित्यो, त्यसपछि हामीलाई एक अर्कालाई यसरी नै झेल्ने बानी पर्न थाल्यो ।

म चीन जाने कुरा सुनेर सुशीला निकै डराउँछिन् । म गएँ भने फेरि फर्केर आउँदिन भनेर उनी डराउँछिन् ।

५४ वर्षदेखि भारतमा रहँदै आएका एक चिनियाँ सैनिकको मर्मस्पर्शी पीडा

आज म आफ्ना दुई छोरी, छोरा–बुहारी र नाति–नातिनीसँग एउटा ठूलो परिवारमा बस्दैछु । यही मेरो जीवनको सहारा पनि हो । मेरा सन्ताले मलाई धेरै माया गर्छन् । साना नाति–नातिनाले मलाई घेरेर बस्छन् । तर यो बुढ्यौलीमा पनि मेरो एउटै इच्छा छ, एक पटक चीनमा आफ्ना परिवारसँग भेट गरौं । यी बच्चाहरुलाई छोडेर म कहाँ जान्छु र ? यिनीहरु मेरै परिवार हुन् ।

अहिले म ७७ वर्षको भएँ, मेरो दाजु चिर्युआन ८२ वर्षको हुनुभयो । बीबीसीको मद्दतमा पहिलोपटक मैले मोबाइल फोनमा आफ्नो दाजुसँग कुरा गरेँ । उहाँ मभन्दा तीन हजार किलोमिटर टाढा हुनुहुन्थ्यो, म उहाँलाई देख्न र सुन्न सकिरहेको थिएँ तर छुन सक्दैनथेँ । ५४ वर्षपछि मैले दाजुलाई देखेँ । म उहाँलाई चिन्न सकिरहेको थिइनँ । यतिका समयपछि मैले मातृभाषामा कुरा गर्न पाएको थिएँ । तर यहाँ (भारतमा) कोही छैन, जोसँग म मातृ भाषामा कुरा गर्न सकौं । मेरो मुटु फुल्यो र पटक पटब रुन आइरहेको थियो ।

दाजु बारम्बार सोधिरहनु भएको थियो, ‘कहिले आउँछस् ?’ उहाँ भन्दैहुनुहुन्थ्यो कि तँसँग भेट गर्नकै लागि जिउँदै छु अहिलेसम्म । सुनाउँदै हुनुहुन्थ्यो कि चीनले यति प्रगति गरिसकेको छ कि देखेर छक्क पर्छस् । अब हाम्रो खेतमा गाडी र ट्याक्टरबाट खेती हुन्छ रे । लाग्थ्यो कि तत्कालै उडेर आफनो गाउँ हेर्न जाउँ ।

५४ वर्षदेखि भारतमा रहँदै आएका एक चिनियाँ सैनिकको मर्मस्पर्शी पीडा

सन् २००९ मा मेरो भतिज भारत घुम्न आयो । उसकै मद्दतमा मैले चिनियाँ राहदानी पाएँ । अहिले मसँग चीनको राहदानी छ । तर अधिकारीहरुका अनुसार भारतबाट बाहिर जानका लागि मलाई ‘एक्जिट भिषा’ आवश्यक पर्छ । किनकी मसँग आउने भिषा छैन ।

५४ वर्षदेखि भारतमा रहँदै आएका एक चिनियाँ सैनिकको मर्मस्पर्शी पीडा

बीबीसीले यसबारेमा भारतको केन्द्रीय गृहमन्त्रालयलाई प्रश्न पठाएको थियो तर जवाफ आएको छैन । मेरो कथा पढेर बालाघाटका कलेक्टरले आफ्नो कार्यालयमा बोलाउनु भयो । उहाँले ‘कमी कमजोरी’ स्वीकार गर्नुभयो । उहाँले सबै प्रकारका प्रशासनिक सहयोगको भरोसा दिलाउनु भयो तर म चीन जाने दिन कहिले आउला ?

-बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्