२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


गलत भविष्यवाणी गर्ने ज्योतिष पक्राउ


0
Shares

                                                                                  तस्वीरमा श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेना बीचमा ।

अधिकांश श्रीलंकाली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, व्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि व्याप्त छ ।

हाल पक्राउ परेका ज्योतिष–विजिता रोहणा विजयेमुनि श्रीलंकाली नौसेनाका पूर्वसैनिक हुन् ।

सन् १९८९ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी श्रीलंकाको औपचारिक भ्रमणमा रहँदा उनलाई आक्रमण र हत्या गर्ने प्रयास गरेको आरोपमा यिनले जागिर गुमाउनुका साथै सजायसमेत भोग्नुपरेको थियो ।

तथाकथित ज्योतिष विजयेमुनिले राष्ट्रपति सिरिसेनालाई अकस्मात् कडा ज्वरोले पक्डने वा अकल्पनीय दुर्घटनामा पर्ने र २७ जनवरीअगावै उनको मृत्यु हुने भनी बकबास हल्ला फैलाइ ज्योतिष विद्याभिरु समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरेकोले पक्रिइ नियन्त्रणमा लिएको भन्ने श्रीलंकाली प्रहरीको भनाइ छ ।

राष्ट्रपति सिरिसेनाको मृत्यु हुन्छ भन्ने भविष्यवाणीसहित विजयेमुनिले गत डिसेम्बरमा आफ्नो फेसबुक पेजमा थरिथरिका थुप्रै भिडियो क्लिप अपलोड गरेकाले आमजनमानसमा भविष्यवाणी सत्य पो हुने हो कि भन्ने भ्रम फैलन गएको थियो ।

सरकारमा रहेका उच्च अधिकारीहरु चाहिँ विजयेमुनिप्रति सशंकित रहेका थिए ।

यहीक्रममा विजयेमुनिले भित्रभित्रै कतै सैनिक विद्रोह गराउने वा राष्ट्रपतिलाई अप्रत्याशित आक्रमण गर्ने षड्यन्त्रको तानाबाना त बुनिरहेको छैन भन्ने आशंकामा सन्चार मन्त्रालयका सचिव निमाल बोपेजले श्रीलंकाका प्रहरी प्रमुखलाई गोप्यरुपमा अनुसन्धान गर्न र विजयेमुनिको भविष्यवाणीले उत्पन्न गराउनसक्ने सम्भाव्य परिणामउपर निगरानी राख्ने आदेश दिएका थिए । रासस/एपी