काठमाडौं, फागुन २६ । सांसद राजेन्द्र लिङ्देनले सरकार र सिके राउतबीच भएको सहमतिबारे सरकारले संसदमा प्रष्ट पार्नुपर्ने माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद लिङ्देनले प्रश्न गरे, ‘यो सहमति सिके राउतको पक्षमा सरकार गएको कि सिके राउत आफ्ना मुद्दा छाडेर मुल प्रवाहमा आएको ?’ सम्झौतामा यो प्रश्नको प्रष्ट जवाफ नभएको भन्दै उनले सरकारले यसलाई प्रष्ट पार्नुपर्ने बताए ।
स्वतन्त्र मधेस गठबन्धनलाई सरकारले लोकतान्त्रिक शक्तिका रुपमा व्यवहार गर्ने भनिएकोबारे समेत उनले प्रश्न गरे । मधेसलाई अलग राष्ट्र बनाउने लक्ष्य लिएको संगठनलाई लोकतान्त्रिक शक्तिका रुपमा सरकारले मान्यता दिनुको अर्थ प्रष्ट पार्न उनले मागसमेत गरे ।
सहमति गर्दा वा सहमति भइसकेपछिको अवस्थामा सिके राउतले विगतप्रति क्षमायाचना गरेको कहीँ नदेखिएको भन्दै सांसद लिङ्देनले सरकारलाई प्रश्न गरे, ‘सरकार जनमत संग्रह गर्न तयार भएको हो ?’
उनले सिके राउतकै माग अनुसार सरकार यदि जनमत संग्रह गराउन तयार भएको हो भने त्यो आफूहरुलाई कुनै पनि हालतमा मान्य र स्वीकार्य नहुने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्