Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


नेपालमा विदेशी अपराधीलाई पक्राउ गर्नै सकस


0
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा ५५ वर्षअघिदेखि विभिन्न अपराधमा संलग्न भएका सयौं अपराधीको कैद र दण्ड जरिमाना असुल हुन नसकेको देखिएको छ ।

२०१९ साल यता ३६० जना विदेशी अपराधी फरार रहेका छन् । अपराध गरी फरार हुनेमा नेपाल घुम्न आउनेदेखि विभिन्न कम्पनीमा आबद्धता रहेर घोटाला गर्नेसम्मका छन् ।

वन्यजन्तुका अन्तर्राष्ट्रिय गिरोहमा संलग्न इयान बेकर विगत पाँच वर्षदेखि फरार सूचीमा छन् ।

राजधानीमै वन्यजन्तुको ओखेटोपहारको भण्डारण गरी तस्करी गर्दै आएका उनीविरुद्ध प्रहरीले पक्राउ गर्नका लागि फरार अपराधीको सूचीमा राख्दै इनटरपोल जारी ग¥यो । तर, उनी पक्राउ पर्न सकेनन् ।

‘गोल्डक्वेस्ट’ खेलाउने हङकङ नागरिक डोन्ना मारिइ ग्लेन इम्सन र भारतीय नागरिक तनवीर निजामबाट ५३ करोड ६० लाख रुपैयाँ असुल गर्न सर्वोच्चबाट २६ माघ २०६५ मा ती अभियुक्तलाई सजाय हुने गरी अन्तिम फैसला भएको थियो ।

तर, फैसलाअगावै उनीहरू नेपालबाट बाहिरिए । सम्पत्ति शुद्धीकरण अभियोगमा चिनियाँ नागरिक उली साङबाट ६ करोड ७४ लाख ५० हजार रुपैयाँ उठाउनुपर्नेछ तर उनी मुद्दा लाग्नुअगावै फरार भएका छन् ।

यी त केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । कर्तव्यज्यान, लागूऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्ति चोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायत मुद्दाको अदालतमा चाङ छन् ।

नेपालबाट विदेश भागेका अपराधीलाई पक्राउ गर्नका लागि अहिले सहज नभएको फैसला निर्देशनालयका निर्देशक यज्ञ आचार्य बताउँछन् ।

‘पहिला धरौटीमा छुट्छन्, छुटे लगत्तै आफ्नो देश भाग्छन्,’ उनले भने, ‘अन्तिम फैसलामा दोषी देखिए पनि भागिसकेकाले पक्राउ पर्न सक्दैनन् ।’ -राजधानी दैनिकबाट