रौतहट, फागुन २५ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले विखन्डनकारी शक्तिलाई राष्ट्रिय राजनीतिको मूलधार र शान्ति–प्रक्रियामा ल्याएको दाबी गरेका छन् ।
शनिबार रौतहटको गरुडामा आयोजित नेकपाको प्रदेश नम्बर–२ स्तरीय आमसभालाई सम्बोधन गर्दै उनले जनतालाई झुक्याउने काम बन्द गरेर सबै पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा सहयोग गर्न आग्रह गरे ।
नेकपालाई मधेसविरोधी पार्टीकारुपमा नहेर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले तराई–मधेसको विशेष पूर्वाधार कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याएर योजना अगाडि सारिएको उल्लेख गरे ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोप्रति भने प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए ।
राजनीतिक परिवर्तनमा तराई–मधेसका जनताको अग्रणी भूमिका : दाहाल
यसैगरी, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थीरताका लागि पार्टी एकता गरेको स्पस्ट पार्दै तल्ला तहको एकीकरण प्रक्रियामा देखिएको अन्योललाई छिट्टै टुंगोमा पुर्याइने बताए ।
मुलुकको हरेक राजनीतिक परिवर्तन र आन्दोलनमा तराई–मधेसका जनताको अग्रणी भूमिका रहेको पनि अध्यक्ष दाहालको भनाइ थियो ।
नेकपाविरुद्ध भ्रामक प्रचार : नेपाल
यस्तै, नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले केही मधेसी दलले नेकपाविरुद्ध भ्रामक प्रचार गरेको भन्दै बेसहाराको सहारा कम्युनिस्ट पार्टी रहेको बताए ।
अन्याय–अत्याचारको जबसम्म अन्त्य हुँदैन, तबसम्म जनताले सुख र समृद्धिको अनुभूति गर्न नसक्ने उनले उल्लेख गरे ।
कार्यक्रममा बोल्ने नेकपाका नेताहरुले आफ्नो अधिकांश समय आफ्नो पार्टी मधेसविरोधी नरहेको पुष्टि गर्न खर्चिएका थिए ।









प्रतिक्रिया दिनुहोस्