काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेस आन्दोलन परित्याग गरेका नेता सीके राउत नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजत्तिकै क्षमतावान भएको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राउतलाई मूलधारको राजनीतिमा भित्र्याउँदै प्रधानमन्त्री ओलीले भने–‘प्रचण्डजीले पनि आन्दोलन गरेर संसदीय अभ्यासमा आउनुभयो । सीके राउतजीको आन्दोलनपनि उहाँजत्तिकै क्षमतावान रह्यो ।’
‘जाति–जाति लडाउने र भूगोल–भूगोल लडाउने कुरालाई त्यागेर आउने कुरा चानचुने होइन’ भन्दै प्रधानमन्त्री ओलीले देश बनाउन राउतको भूमिका महत्वपूर्ण रहने बताए ।
‘हिंसारहित बाटोबाट पनि प्रतिक्रियावादी शक्तिलाई पराजित गर्न सकिन्छ भन्ने कुरा सीके राउतजीले सन्देश दिनु भएको छ’–प्रधानमन्त्री ओलीले बताए ।
हालै अदालतले गरेको फैसलामा राजपा नेपालले गरेको विरोधप्रति लक्षित गर्दै प्रधानमन्त्रीले ‘अदालत राज्यको अंग भएपनि सरकारको अंग होइन’–भने ।
टीकापुर घटनामा अदालतले गरेको फैसलापछि एउटा राजनीतिक दलले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले ‘बिरालो रिसायो भने मान्छेलाई होइन, खाँबो चिथोर्छ’ भन्ने उखान चरितार्थ भएको टिप्पणी गरे ।
अदालतलाई आलोचना गर्न नसकेपछि सरकारविरुद्ध ओर्लिएको उनको भनाइ थियो ।
उनले आवेग र उत्तेजनाको राजनीति नगर्न आग्रह गर्दै यो देश निर्माण गर्ने बेला भएकाले सुशासन र विकासको लहर चलाउन सबैमा आग्रह गरे ।
अरु निहुँ नपाएपछि सीके राउतलाई देखाएर ‘तराईमा रोटी सेक्न चाहनेहरुको रोटी अब काँचै पल्टिने’ पनि उनले बताए ।
‘तराईको पृथकतावादी चलाउनेलाई छाड्ने, हामीलाई भने थुन्ने ?’ भन्नेको अब ‘मुख बुझो लागेको’ पनि उनको भनाइ थियो ।
‘अब देश टुक्र्याउने भन्ने मुद्दापनि सकियो’–प्रधानमन्त्री ओलीले भने ।
उनले विभिन्न बहानामा अत्तो थापेर राजनीतिक अस्तित्व देखाउनेतिर नलाग्न सबैलाई आग्रहसमेत गरे ।

“









प्रतिक्रिया दिनुहोस्