४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


एमाले र मधेसी मोर्चाबीच एक वर्षपछि सम्वाद हुँदै


0
Shares

१६ बुँदे सहमति र संविधान निर्माणसगै बढेको दूरी घटाउन दुवै पक्षको शीर्ष नेतृत्वको सहमतिमा दोस्रो तहका नेताहरु यो साताभरि भेटवार्ताहरुमा अग्रसर भए ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलका दोस्रो तहका नेताहरुले एमाले पक्षसँग संवाद गरिरहेको खुलाए । एमाले नेताहरुले पनि ठाकुरको भनाई पुष्टि गर्दै मोर्चासँग कुराकानी भइरहेको बताए ।

मोर्चासित एमालेको तर्फबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले वार्ताको अग्रसरता लिएका छन् । मोर्चाबाट तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्णले संवाद बढाइरहेको स्रोतले भन्यो ।

कर्णले भने आफू बैठकहरुमा सहभागी नरहेको बताए । मोर्चा नेताहरुको दाबीमा पछिल्लो एक सातायता भएका चरणबद्ध भेटहरु एमाले अध्यक्ष केपी ओलीको चाहनामा दोस्रो तहका नेताहरुको तर्फबाट आयोजना भएका हुन् ।

एमाले स्रोत भने मोर्चाभित्र उदार विचार राख्ने पक्ष आफैं संवाद बढाउन अग्रसर भएको दाबी गर्छ ।

‘मधेसी मोर्चासित संवादहीनता तोडियो, अब छलफल सुरु भएको छ,’ एमालेको तर्फबाट पछिल्ला भेटहरुमा सहभागी सचिव प्रदीप ज्ञवालीले भने, ‘यी भेटहरुको बारेमा अध्यक्षलाई सबै जानकारी छ । तर परिणामको बारेमा हामी ढुक्क छैनौं ।’

मोर्चाभित्र एमालेलाई हेर्नेबारे दुई धार रहेकाले आफूसित संवादरत पक्षले सिंगो मोर्चालाई एमालेसग सहकार्य गर्ने तहसम्म ल्याउछ भन्नेमा आफूहरुलाई कम विश्वास रहेको एमालेका अर्का नेताले बताए । ‘तर एमालेलाई बाहिर राखेर एजेन्डाहरु टुंगो लगाउन सकिन्न भन्ने रियलाइजेशन उहाँहरुलाई भएजस्तो कुराकानीको क्रममा देखियो,’ ती नेताले भने ।

एमाले उपाध्यक्ष भीम रावलले भने मोर्चा पक्षसँग भएका वार्ताहरु अनौपचारिक प्रकृतिकै रहेको दाबी गरे । ‘देशलाई अप्ठेरो परेका बेला सबैसँग कुरा गरौं भन्ने स्पिरिटमै मोर्चासँग कुरा भएको हो,’ रावलले भने, ‘औपचारिक किसिमले कुरा गर्न बाँकी छ ।’

उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सत्ता आलोपालो सहमतिको म्याद गुज्रिन लागेकाले नयाँ सम्भावनाहरुको खोजी गर्दै चुनावसम्म जाने मार्गचित्रबारे एमाले–मोर्चाबीच कुराकानी भइरहेको छ ।

स्रोतका अनुसार एमाले नेताहरुले जेठमै चुनाव गर्नका लागि संविधान संशोधन विधेयक पारित गरिहाल्न अनावश्यक जोड नदिनका लागि मोर्चालाई सुझाव दिएका छन् । –कान्तिपुर दैनिकबाट