१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


ट्रम्प प्रशासनका अर्का प्रमुख अधिकारीले दिए राजीनामा


0
Shares

वासिंटन, असार २२ । अमेरिकी वातावरण संरक्षण समितिका प्रमुख स्कट प्रुइटले राजीनामा दिएका छन् ।

एकपछि अर्को विवादमा तानिएका प्रुइटले अन्ततः राजीनामाको बाटो अवलम्बन गरेका हुन् । प्रुइटलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए ।

तात्कालीन राष्ट्रपति बाराक ओबामाको जलवायु सम्बन्धी नीतिहरुलाई उल्ट्याउन उनको नियुक्ति भएको बताइन्छ । नियुक्ति पाएसँगै उनी अनेक विवादमा फसेका थिए ।

उनीमाथि अपारदर्शिताको आरोप छ । उनका अनियमित काममाथि टिप्पणी गर्ने कामदारलाई पनि दुःख दिएको भन्दै उनको आलोचना हुने गरेको थियो ।

कैयन अनियमितताको आरोपमा अनुसन्धान शुरु भइरहेका बेला प्रुइटले आफ्नो पदबाट राजीनाको घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पलाई पठाएको पत्रमा उनले आफू र आफ्नो परिवारमाथि भएका क्रुर आक्रमणका कारण राजीनामा दिएको उल्लेख गरेका छन् ।

एक दर्जन आरोपको सामना गरिरहेका उनले शुक्रबारबाट लागू हुने गरी राजीनामा दिएका हुन् । ट्रम्प प्रशासन अन्तर्गत राजीनामा दिने प्रुइट मन्त्रीस्तरका चौथो अधिकारी हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने उनको प्रशंसा गरेका छन् । एक ट्वीट गर्दै ट्रम्पले प्रुइटले असाधारण काम गरेको भन्दै धन्यवाद दिएका छन् । (एजेन्सी)