
काठमाडौं, फागुन २३ । सरकारले तोकेकोभन्दा बढी शुल्क लिँदै आएको पोखरास्थित गन्डकी मेडिकल कलेजका दुईजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
विद्यार्थीहरुको उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएका १० जनामध्ये कलेजका सीइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई बुधबार राति पक्राउ गरिएको हो ।
कलेज सन्चालक खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखाप्रमुख युवराज शर्मा, हरिमाया पौडेल, दिनेश पौडेल, कर्मचारीहरु तिलक पौडेल, कृष्ण पौडेल र कृष्ण घिमिरे भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सरकारले काठमाडौंबाहिरका मेडिकल कलेजहरुलाई एमबीबीएसमा ४२ लाख रुपैयाँ शुल्क तोकेकोमा सो कलेजले विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म असुल गरिरहेको छ ।
त्यसविरुद्ध विद्यार्थीहरु एक महिनादेखि आन्दोलित छन् ।
प्रतिक्रिया दिनुहोस्