रक्सीले मातेको झोकमा डीएसपीलाई गालीगलौज गर्दा…

फाइल फोटो
मातेकै सुरमा तीनजना साथीलाई बोकेर मोटरसाइकल चलाइरहेका अवस्थामा सोधपुछ गर्दा जिप्रका, खोटाङका प्रनाउ नवीनकिशोर प्रधानलाई गालीगलौज गर्दा छोरम्बुका प्रवीण राईलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको हो ।
मादकपदार्थ सेवन गरेको अवस्थामा राईले आइतबार फोक्सिङ्टारमा प्रहरी पोसाकमै रहेका प्रनाउ प्रधानलाई गालीगलौज गरेको प्रहरीले जनाएको छ ।
बिना हेल्मेट एउटै मोटरसाइकलमा तीनजना चढेको भेटिएपछि सोधपुछ गरेकामा राईले प्रनाउ प्रधानलाई उल्टै गालीगलौज गरेको जनाइएको छ ।
मातेर धङ्धंगिएका राईले प्रनाउ प्रधानलाई गालीगलौज र हातपातको प्रयाससमेत गरेपछि पक्राउ गरेर सोमबार सार्वजनिक मुद्दा चलाइएको छ ।
खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङ्टारको बेलिब्रिज अनुगमन निरीक्षणमा गएका प्रनाउ प्रधानलाई राईले आइतबार दिउँसो गालीगलौज गरेका थिए ।
स्थानीयवासीलाई ट्राफिक नियमको विषयमा सोधेको भन्दै राई आफूमाथि आइलागेको प्रनाउ प्रधानले बताए ।
पक्राउ परेका राईलाई हिरासतमा राखेर कारबाही थालिएको प्रहरीले जनाएको छ । रासस