
-प्रकाश मैनाली/ईमेज
सर्लाही । बढ्दो वन विनाशसँगै बासस्थान मासिन थालेपछि जंगली जन्तुहरु सर्लाहीका गाउँगाउँमा छिरेर आतंक मच्चाउन थालेका छन् ।
घर भत्काउने बालीनाली खाइदिने तथा आक्रमण गर्ने सम्मका हर्कतहरु वन्यजन्तुले गर्न थालेसँगै सर्लाहीका विभिन्न स्थानको जनजीवन त्रासदीपूर्ण बनेको हो ।
सर्लाहीमा वनजंगल विनाशको दर तीव्र रुपमा बढ्न थालेसँगै वन्यजन्तु खाना तथा बासस्थानको खोजीमा गाउँगाउँ पस्न थालेका छन् । बँदेल, नीलगाई, हरिण, हात्ती लगायतका जनावरले गाउँलेहरुमाथि आंतक फैलाइरहेका छन् ।
जिल्लाको पूर्व दक्षिण क्षेत्रमा पर्ने ईश्वरपुर, चन्द्रनगर, हरिपुर, कविलासि, पर्सा,गोडैता लगायतका ग्रामीण भेगमा वन्यजन्तुको ज्यादतीबाट स्थानीय वाक्कदिक्क बनेका छन् ।
बालीनाली खाने, नष्ट गर्ने घरमै पसेर आक्रमण गर्ने गर्न थालेपछि गाउँलेहरु असुरक्षित बनेका हुन् ।
वन्यजन्तुले दिउँसोको समयमा भन्दा रातको समयमा बढी दुख दिने गरेका छन् ।
जनावरले बालीनाली नष्ट गर्न थालेपछि आफूहरु रातको समयमा बत्ती बालेर, पुत्ला बनाएर जनावर भगाउने गरेको चन्द्रनगर गाँउपालिकावासी रौधी महतोको गुनासो छ ।
वन्यजन्तुले किसानहरुलाई क्षति पुर्याए पनि नियन्त्रण र क्षतिपुर्तिका लागि कसैले पहल नगरेको उनीहरुको गुनासो छ ।
१४ प्रकारका वन्यजन्तुले क्षति पुर्याएबापत् किसानले राहत पाउने व्यवस्था नीतिगत रुपमै राखिएको छ ।
यता जिल्ला वन प्रमुख माधव प्रसाद देवले वडा कार्यालयको सिफारिससहित आवश्यक कागजात जिल्ला वन कार्यालयमा पेश गरे क्षतिपुर्ति पाइने बताए ।
वन्यजन्तुको संरक्षण जति आवश्यक छ त्यति नै आवश्यक तिनीहरुबाट हुने क्षति नियन्त्रण गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्