८ असार २०८१, शनिबार | Sat Jun 22 2024


करोडौं मूल्यको चरेससहित पाँचजना पक्राउ


0
Shares

विराटनगरको एक होटलबाट सूचनाको आधारमा विहीबार अपराह्न ५१ किलो ४०० ग्राम चरेससहित पक्राउमा परेका मकवानपुरको टिस्टुङ–५ बस्ने १८ वर्षीय प्रतापसिंह गोले र १९ वर्षीय बुद्ध बम्जन, काभ्रेपलाञ्चोकको नयाँगाउँ देउपुर–४ बस्नेद्वय १८ वर्षीय राम गुरुङ, १७ वर्षीय अरुण गुरुङ र धादिङको भुमेस्थान–१ बस्ने १८ वर्षीय मिलन राउतलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।

उनीहरुले चारओटा चरेसको प्याकेट बनाएर चारओटा सुटकेसमा फ्ल्सबटम बनाएर लुकाएर राखेका थिए । काठमाडौंबाट चरेससहित विहीबार यहाँ आएका उनीहरु एक होटलमा आराम गर्न बसेका थिए ।

जोगबनी भएर भारतको कोलकाता विहीबार नै जाने सुरसारमा रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताए ।

उनीहरुको साथबाट रेलको टिकट, पाँचथान मोबाइल, भारतीय मुद्रा १४ हजार ४००, नेपाली मुद्रा रु एक हजार र पाँचथान नेपाली नागरिकताका साथै बस चढेर काठमाडौंबाट विराटनगर आएको पाँचथान टिकट बरामद गरिएको छ ।

सो लागुपदार्थ चरेसको नेपाली बजारमा अनुमानित प्रतिकिलो रु ३० देखि ४० हजार, भारतीय बजारमा प्रतिकिलो रु ६० देखि ७० हजार र जापानमा प्रतिकिलो रु तीन लाखभन्दा बढीपर्ने गरेको प्रहरी उपरीक्षक भण्डारीले जानकारी गराए ।

उनीहरुमाथि शुक्रबारै लागुपदार्थ ऐनअन्तर्गत् मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ ।

यसअघि, गत पुस ६ गते विराटनगर–२१ बाट भारतको कोलकाता बस्ने २५ वर्षीय शेख रिमादलाई तीनकिलो ४५ ग्राम चरेससहित प्रहरीले पक्राउ गरेको थियो । रासस