Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


फेरि ज्वाला दन्किने खतरा : बाबुराम


0
Shares

काठमाडौं, फागुन २२ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको विकास र समृद्धिका लागि वर्तमान राजनीतिक प्रणालीमा सुधार गर्न अत्यावश्यक रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै भट्टराईले अहिलेकै राजनीतिक प्रणालीले मुलुकको विकास सम्भव नहुने ठोकुवा गरे ।

वर्तमान राजनीतिमा रहेका विकृति हटाउन प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको प्रणाली अवलम्बन गर्नुपर्ने उनको धारणा थियो ।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका क्रियाकलापप्रति कुनै हालतमा सहमत हुन नसकिने भन्दै भट्टराईले तर बेलैमा सम्बोधन नभए फेरि ‘ज्वाला दन्किने खतरा’ रहेको दाबीपनि गरे ।

सत्यनिरुपण र मेलमिलाप तथा बेपत्ता व्यक्ति छानबिन आयोगले ‘बिर्स र माफी गर’ भन्ने सिद्धान्तबाट काम गर्नुपर्ने भन्दै उनले ‘दुनियाँ कराउँदै गरेपनि आफ्नै ढंगले शान्ति–प्रक्रिया टुंग्याउनुपर्ने’ बताए ।

आफूप्रति साँच्चै रिस भए र आफूलाई दन्डित गर्ने भए त्यसका लागि तयार रहेको उनले बताए ।

चेतावनी

विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले निरंकुश शैलीमा शान्तिपूर्ण आन्दोलनरत् राहत शिक्षकमाथिको दमन जारी गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

राहत शिक्षकका माग सम्बोधन गर्न ध्यानाकर्षण

यस्तै, सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले राहत शिक्षकका मागलाई सरकारविरुद्ध विरोध गर्ने हतियारकारुपमा प्रयोग गरे सह्य नहुने चेतावनी दिँदै तत्काल राहत शिक्षकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

विशेष समयमा भाग लिँदै राजपा अध्यक्षमन्डलका संयोजक महेन्द्रराय यादवले आन्दोलनकाक्रममा घाइते शिक्षकहरुको उपचार खर्च व्यवस्था गर्न माग गर्दै राहत शिक्षकसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरे ।

यसैबीच, बैठकको शून्य समयमा सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडाले वैदेशिक रोजगारीबाट फर्कने कामदारले ल्याएका सामान जफत गरेर सरकारले ‘लखनउ लुट कहिलेसम्म मच्चाउने ?’ भन्दै प्रश्न गरे ।

शून्य समयमा बोल्ने अन्य सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।