Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘संसदलाई कर्मकान्डी होइन, कामकाजी बनाऔं’


0
Shares

काठमाडौं, फागुन २२ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उनले मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन सुझाव दिए ।

उनले भने–‘मुलुकमा विभिन्न स्थानमा खानेपानी र सिँचाइको समस्या देखिएको छ । त्यसलाई सम्बोधन गर्न जलउपयोग नीति बनाउनुपर्छ । शिक्षकको दरबन्दीलाई पनि व्यवस्थित तुल्याउन निकै आवश्यक देखिएको छ । शिक्षा क्षेत्रलाई व्यवस्थित तुल्याउन ‘शल्यक्रिया’ गर्नुपर्छ ।’

कृषि उत्पादन बढाउन तथा कृषकलाई उत्प्रेरित गर्न छुट र राहतका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले ‘मुलुकमा नमुना बनाउने भनेर घोषणा गरेका स्थानमा आवश्यक पूर्वाधार निर्माणको काम भएको देखिएन’–भने ।

मुलुकका कतिपय स्थानमा रहेका पुरातात्विक वस्तुको संरक्षण र पुनःनिर्माणको काम हुन आवश्यक रहेको बताउँदै उनले प्राकृतिक प्रकोपको दोहनलाई रोक्न राज्यले आवश्यक ध्यान दिनुपर्ने बताए ।

‘विश्व स्वतन्त्रताको दुनियाँमा प्रवेश गरेकाले युग परिवर्तनको चेतलाई बुझेर देशलाई समृद्ध तुल्याउने अभियानमा सहभागी हुन तथा विश्व अर्थ व्यवस्था अघि बढाउन परराष्ट्रनीतिलाई गतिशील तुल्याउन आवश्यक छ’–उनले भने ।

राजनीतिक प्रणालीमा सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न तथा सदाचारको नीतिलाई प्रवर्द्धन गर्नपनि उनले सुझाव दिए ।

‘राष्ट्रिय विकासका लागि राष्ट्रिय रणनीति तय गर्न संसदले पहल गरोस्’ भन्दै भट्टराईले संसदलाई कर्मकान्डीकारुपमा होइन वास्तविक बहस गर्ने थलोकारुपमा विकास गर्न आह्वान गरे । रासस