१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


अराजक गतिविधि गर्नेलाई नियन्त्रणमा लिने गृहमन्त्रीको प्रतिबद्धता


0
Shares

बिराज रोस्यारा

कैलाली, फागुन २२ । गृहमन्त्री रामबहादुर थापाले बिष्फोट तथा अराजक गतिविधिमा संलग्न समूहलाई नियन्त्रणमा लिने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नाम नलिइ उक्त संगठनतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले देशमा शान्ति सुव्यवस्था कायम गर्नु सरकारको दायित्व रहेको बताउँदै हिंसात्मक गतिविधि र अराजकतामा संलग्न समूहलाई नियन्त्रणमा लिइने प्रष्ट पारे ।

गृहमन्त्री थापाले सरकारले एक वर्षको अवधिमा विकास र समृद्धिका लागि आधारहरुका तयार पारेको बताए । यो अवधिमा सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार ल्याउन सफलता पाएको उनको भनाइ थियो । शान्ति सुरक्षा कायम गर्न पनि सरकार सफल रहेको उनले बताए ।

यद्यपि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाका दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन अझै सफलता प्राप्त नभएको उनले स्वीकार गरे । हालसम्म दोषी पत्ता नलाग्नुमा केही निकायको लापरवाही मुख्य कारण रहेको उनले बताए । उनले छिट्टै निर्मला पन्तको हत्यामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने विश्वास व्यक्त गरे ।

आजबाटै सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनगढीमा शुरु भएको छ । प्रादेशिक सुरक्षा गोष्ठीमा गृहमन्त्री थापा, सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचिव नारायण बिडारी, तीनवटै सुरक्षा निकायका प्रमुख, सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, चारवटै सुरक्षा निकायका प्रादेशिक प्रमुख, नौवटै जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख लगायतको सहभागिता छ ।