‘शिवरात्रीको जात्रा, गाँजाको व्यापार’: यसरी हुन्छ पशुपतिमा खुलेआम गाँजाको व्यापार(भिडियो) • Image Khabar Image Khabar


‘शिवरात्रीको जात्रा, गाँजाको व्यापार’: यसरी हुन्छ पशुपतिमा खुलेआम गाँजाको व्यापार(भिडियो)


Imagekhabar
१३ फाल्गुन २०७३, शुक्रबार १२:१८

‘शिवरात्रीको जात्रा, गाँजाको व्यापार’: यसरी हुन्छ पशुपतिमा खुलेआम गाँजाको व्यापार(भिडियो)

-गृष्मा राजभण्डारी, ईमेज

अर्थात शिवरात्रीको जात्रा, गाँजाको व्यापार । त्यस्तै देखियो यस पटक पनि पवित्र तीर्थस्थल पाशुपत क्षेत्रमा । भनिन्छ महाशिवरात्री भगवान शिव शंकरको पूजा आराधना गरी मनाईने पर्व ।

जव जब शिवरात्रीको दिन नजिकिंदै आउँछ, गाँजा र भाङ खानेहरुका लालसा यसरी बढ्दै जान्छ मानौं कि उनीहरुका लागि कुनै अनौठो चाड आएझैं हुन्छ ।

वर्षेनी देखिने यो विकृति यस वर्षपनि उसैगरी देखियो जस्तो पहिले देखिन्थ्यो । हाम्रो टोली पवित्र पाशुपत क्षेत्रमा पुग्दा गाँजाको ब्यापार खुलेआम भइरहेको देखियो ।

मानौं कि यहाँ कानूनविपरित कुनै काम भइरहेको छैन र कुनै नौलो विषय नै होइन । शिव दर्शनका लागि देश विदेशबाट आएका साधुसन्त हुन् वा युवा, सबैको ध्यान केन्द्रित थियो, पाशुपत क्षेत्र परिसरमा रहेको राम मन्दिरमा ।

जहाँ देशभित्र र बाहिरबाट आएका साधुसन्तले खुलेआम गाँजाको ब्यापार गरिरहेका थिए । अघिपछि लुकीछिपी गाँजाको स्वाद चाखेका हुन् वा पहिलो पटक सर्को लाउँदै गरेका, उनीहरुका लागि मानौं कि यो अपूर्व अवसर नै हो ।

उनीहरुका लागि शिवरात्रि त्यस्तो रक्षाकवच थियो, जहाँ न कुनै संकोच न कुनै डर । दुनियाँ भुलेर गाँजा सेवन गरिरहँदा सुरक्षाकर्मीहरु भने करिब करिब मूकदर्शक झैं देखिए ।

त्यसो त यदाकदा गाँजा फाल्ने र सचेत तुल्याउने काम नभएको होइन ।  गाँजाको खुलेआम ब्यापार र गाँजा सेवनको दृष्य हेर्न स्वदेशी र विदेशीको भीड नै लागेको थियो । शिवरात्रीमा धुनी जगाउने बहानामा पशुपति आएका उनीहरुले गाँजाको ब्यापारबाट राम्रै आयआर्जन गर्न भ्याए ।

तर साधु सन्त भने यसलाई अस्वीकार गर्छन् र भन्छन् शिवजीको प्रसाद हो । नेपाली कानूनले गाँजा भाङ जस्ता लागू पदार्थको बेचबिखन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

कानुनले प्रतिबन्ध लगाएपछि शिवरात्रीमा खुलेआम गाँजा खानेहरु देखिने गरेका छन् । यसलाई अन्त्य गर्न भन्दै पशुपति क्षेत्र विकास कोषले यस वर्ष त झन् गाँजाको कारोबार हुनै नदिने प्रतिबद्धता जनाएको थियो ।

तर कोषको त्यो प्रतिबद्धताको धज्जी उठाउँदै शिवरात्रीको अघिल्लो साँझदेखि नै गाँजाको ब्यापार फैलियो ।

सुरक्षा र कानूनी व्यवस्था लागु गर्ने जिम्मा पाएका हजारौं सुरक्षाकर्मी तैनाथ रहेकै क्षेत्रमा यसरी गाँजा बिक्री गर्नु र सेवनको छुट दिनु पक्कै पनि राम्रो होइन । यसले त महाशिवरात्रि पर्वको महत्तालाई ओझेलमा पार्ने र विकृतिलाई मलजल पुर्‍याउने काम मात्र गर्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्