२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


तरकारी बेचेरै वार्षिक १० लाख आम्दानी गर्ने यी हुन भवानीप्रसाद (भिडियो)


0
Shares

-जितेन्द्र भण्डारी, ईमेज

जग्गा भाडामा लिएर तरकारी खेती गरेका फिदिम नगरपालिका–२ का भवानीप्रसाद काफ्लेले कृषिबाटै राम्रो आम्दानी गरेर जिल्लामै उदाहरणीय बनेका छन् ।

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर २ का भवानीप्रसाद काफ्लेलाई तरकारी खेती गर्न भ्याई/नभ्याई छ । उनले अहिले १४ हजार काउलीको विरुवा रोपेका छन् ।

उनलाई बेमौसमी तरकारी तथा फलफूल लगाउनसमेत हतारो भइरहेको छ । २०४७ सालदेखि कृषि पेशामा संलग्न उनले कृषि क्षेत्रमै महत्वपूर्ण योगदान पुर्‍याए बापत् धेरै निकायबाट थुप्रै सम्मान पाइसकेका छन् ।

कृषि क्षेत्रमा लागेरै अहिले उनले पक्की घर जोडेका छन् भने छोराछोरीलाई राम्रो स्कुलमा पढाइ रहेका छन् । तरकारी बिक्रीबाटै वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने गरेको उनले बताए ।

पछिल्लो समय दैनिक हजारौं युवा रोजगारीका लागि खाडी मुलुक गइरहेको अवस्थामा काफ्लेले गरेको व्यवसायीक तरकारी खेती जिल्लामै उदाहरणीय बनेको छ ।

उनले कृषितर्फ युवालाई आकर्षित गराउन सरकारले विशेष नीति लिनुपर्ने बताए । काफ्ले परिवारले १० रोपनी जग्गा भाडामा लिई व्यवसायीयक तरकारी खेती गरेको छ ।

उनलाई जिल्ला कृषि विकास कार्यालय पाँचथरले समेत आवश्यक परामर्श, प्राविधिक सहायक, औजारलगायतका सामग्री सहयोग गर्दै आएको जिल्ला कृषि विकास कार्यालय पाँचथरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताए ।

काफ्लेले उत्पादन गरेको तरकारी सहजै बिक्री हुने गरेको छ । उनले अर्गानिक खेती गर्ने गरेका छन् ।

उनलाई कृषि विकास कार्यालयले बिउबिजनसहित पोली हाउससमेत सहयोग गरेको कार्यालयका नायव सहायक प्राविधिक नरहरि निरौलाले जानकारी दिए ।