१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


किम जोङ नाम मार्न ९० डलर ? पक्राउ परेकी महिला यसो भन्छिन्


0
Shares

इन्डोनेसियाली दूतावासका अधिकारीले हिसासतमा रहेकी २५ वर्षीया आइस्यालाई शनिबार क्वालालम्पुरमा भेटेका थिए ।

उनले आफूलाई कसैले ‘रियालिटी जोक सो’का लागि भनेर किम जोङ नामको अनुहारमा बच्चालाई लगाउने तेल दल्नका लागि रकम दिइएको जिकिर गरेकी छन् ।

तर, नामको शवको पोस्टमोर्टमबाट भने उनको अनुहारमा घातक रासायनिक पदार्थ प्रयोग गरिएको खुलासा भएको छ ।

‘भी एक्स नर्भ एजेन्ट’ नामक उक्त रासायनिक पदार्थलाई संयुक्त राष्ट्रसंघले आमविनाशकारी हतियारको सूचीमा राखेको छ ।

यो एक थोपामात्र छालामा पर्‍यो भने पनि मानिसको केही मिनेटमै मृत्यु हुने चिकित्सकले बताएका छन् ।

गत हप्ता मलेसियाको राजधानी क्वालालम्पुर एअरपोर्टमा दुई महिलाले नामको अनुहारमा उक्त रासायनिक पदार्थ छर्किएपछि बेहोस भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

हत्यामा उत्तर कोरियाको संलग्नता रहेको व्यापक अनुमान गरिएपनि उसले अस्वीकार गरेको छ ।

घटनामा संलग्न कम्तीमा सातजना संदिग्धको मलेसियाली प्रहरीले खोजी गरिरहेको छ । (एजेन्सी)