२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


समुद्रमुनी ‘प्लेटफर्म’ बनाउने चीनको योजना, यस्तो छ उद्देश्य


0
Shares

सैन्य शक्तिलाई मजबुत बनाउने उद्देश्यले चीनले पछिल्ला वर्ष निकै ठूलो रकम खर्चिदैं आएको छ । आधुनिक हतियार निर्माणदेखि लिएर सैन्य बेस निर्माणमा चीनले व्यापक लगानी गरेको छ । बाहिरी विश्वलाई थाहा नै नदिइ चीनले सैन्य अभियान आधुनिकीकरण गर्नेदेखि लिएर सामरिक महत्वका क्षेत्रमा आन्तरिक तयारी गर्दै आएको छ ।

यसैबीच चीनले समुद्रमुनीसमेत आफ्नो सेना तैनाथ गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । सो योजना अन्तर्गत समुद्रमुनी १० हजार फिटको गहिराईमा चीनले विशेष ‘प्लेटफर्म’ निर्माण गर्ने भएको हो ।

यो प्लेटफर्मबाट चीनले मलेसिया, फिलिपिन्स, भियतनाम लगायतका मुलुकमाथि निगरानी गर्न सक्ने जनाइएको छ । यो प्लेटफर्मकै मद्दतबाट चीनले सामुद्रिक खोज तथा अनुसन्धानमा पनि मद्दत पुग्ने विश्वास लिएको छ ।

चाइनिज एकेडेमी अफ साइन्सेज (सीएएस) का शिक्षाविद् वाङ्ग पिनशियानका अनुसार दक्षिण चीन र पूर्वी चीन सागरमा दीर्घकालिन निगरानी गर्ने उद्देश्यले बनाइने प्लेटफर्म निर्माणमा संघाइको टोंगजी विश्वविद्यालय र इन्स्टिच्यूट अफ एकोस्टिक्सको मद्दत लिइने छ ।

सांघाइमा आयोजित एक वैज्ञानिक सम्मेलनमा उनले भने, ‘प्लेटफर्म निर्माणबाट अन्तर्राष्ट्रिय स्पर्धामा चीन सक्रिय रुपमा सामेल छ भन्ने देखाउनु छ ।’

इन्स्टिच्यूट अफ एकोस्टिक्सले प्लेटफर्मको समवेदनशीलतालाई ध्यानमा राख्दै यसको निर्माण हुने सटिक क्षेत्र खुलासा गरेको छैन । यसबारे गरिएको शोधबारे पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन । (एजेन्सी)