२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


महाशिवरात्रिः पशुपतिनाथमा घुइँचो (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज)

काठमाडौं, फागुन २० । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाइँदैछ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चारओटा प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व छ ।

सम्पूर्ण दीन–दुःखी र संकटले घेरिएका प्राणीहरूको हृदयमा बास गरी कल्याण गर्ने आशुतोष भगवान् शिवको अतिप्यारो दिन नै शिवरात्रि हो ।

यसदिन देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

द्वादश ज्योतिर्लिंगको शीर मानिने पशुपतिनाथमा आज बिहानैदेखि दर्शनार्थीको भीड लाग्यो ।

बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारओटै ढोका खोलिएको थियो भने दर्शनार्थीलाई चारओटा लाइनबाट मन्दिरसम्म पुग्ने व्यवस्था मिलाइएको थियो ।

यसपटक मन्दिरसम्म पुगेर दर्शन गर्न निकै मुस्किल भएको भक्तजनहरुको गुनासो थियो ।

व्रतहरुमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

त्यसमाथि आज सोमबार नै शिवरात्रि परेकाले पनि पशुपतिनाथलगायतका शिवालयहरुमा बढी दर्शनार्थी पुगेका छन् ।

आज रातभर घर, चोक र मठ–मन्दिरहरुमा दाउरा तथा मुढा बालेर धुनी जगाइ भजन–कीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने चलनपनि छ ।

पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखन्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

शिवरात्रिको अवसरमा विश्वका विभिन्न देशबाट हिन्दू धर्मावलम्बीहरु पशुपतिनाथको दर्शन गर्न नेपाल आउने गर्छन् ।

हाल भारतको प्रयागराजमा कुम्भ मेला चलिरहेकाले त्यहाँबाट ठूलो संख्यामा साधु–सन्तहरु पशुपतिनाथ मन्दिरमा आएकाले एक साताअघिदेखि नै पशुपति क्षेत्रमा भीड बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थीका लागि ठाउँ–ठाउँमा खानेपानीको सुविधा उपलब्ध गराइएको थियो भने प्राथमिक स्वास्थ्य सुविधाको व्यवस्था पनि गरिएको थियो ।

हजारौंको संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटाइएको थियो ।

पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायतका लागुपदार्थको खुलेआम बिक्री तथा सेवन भने निषेध गरिएको थियो ।

भिडियो हेर्नुहोस्