२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


युवाहरु पलायन हुँदा गाउँ सुनसानः ‘जन्ती र मलामी’ पनि पाउन मुस्किल


0
Shares

-डम्बर बुढामगर/ईमेज

बाग्लुङ । केही समययता गाउँवस्तीबाट युवाहरु रित्तिँदै गएका छन ।

रोजगारीको सिलसिलामा कोही शहरबजारतिर छन् त कोही विदेश पसेका छन् । जसका कारण गाउँबस्तीहरु सुनसानजस्तै बन्न थालेका छन् ।

बाग्लुङको गलकोट नगरपालिका वडा नम्बर ७ मल्मगाउँमा युवाहरु वैदेशिक रोजगारमा गएकाले गाउँमा केटाकेटी, वृद्धवृद्धा र महिलाहरु मात्र रहेका छन् ।

घरायसी कामकाजमा खासै समस्या नभएपनि जटिल र गह्रौ काममा समेत महिला नै होमिनुपर्ने बाध्यता रहेको छ ।

कृषिप्रधान मुलुक भनिएपनि काम गर्ने मानिस नहुँदा जग्गाहरु बाझै पल्टेका छन् सबैथोक किनेरै खानुपर्ने अवस्था छ ।

गाउँमा मर्दापर्दा कोही बिरामी हुँदा महिलाहरु नै अगाडि सर्नुपर्छ ।

धार्मिक परम्पराअनुसार शव बोक्नुपर्ने पुरुषले मान्यता रहेपनि गाउँमा पुरुष नहुँदा महिलाले नै गर्ने गरेका छन् ।

यस ठाउँका अधिकांश युवाहरु अष्ट्रेलिया, स्पेन, जापानसंगै खाडी मुलुकमा काम गर्न गएका छन् ।

गाउँ पुरुषविहीन भएपछि भारी र गह्रौ काम पनि सकिनसकि महिलाले गर्नुपर्ने बाध्यता छ ।

नजिकै अस्पताल नभएकाले कहिलेकाहीँ अपर्झट  बिरामीलाई बोक्नुपर्दा निकै असहज हुने गरेको छ ।

गाउँका विवाह ब्रतबन्ध तथा अन्य कार्यक्रममा जाँदा युवालाई मुस्किलले देख्न सकिन्छ ।

कतिपयका छोराबुहारी सबै विदेशमा भएकाले घरमा बृद्धबृद्धाको स्याहारसुसार गर्ने कोही छैनन् ।

यसका साथै गाउँमा भइरहेका राजनीतिक गतिविधि र विकासका क्रियाकलापमा निगरानी गर्ने र बेथितिका विरुद्धमा आवाज उठाउन सक्नेहरुको अभाव खट्किरहेको छ ।

यहाँजस्तै अन्य ग्रामीण वस्तीमा अवसर र सेवासुविधा न्यून भएकाले शहरबजार र सुविधायुक्त क्षेत्रमा असन्तुलित रुपमा मानिस थुप्रिरहेका छन् ।

धमाधम विकासका काम अघि बढाएर गाउँगाउँमा सेवासुविधा र अवसर सिर्जना गर्न सके युवाजनशक्तिको विकर्षण घट्ने थियो ।