
काठमाडौं, फागुन १९ । असन्तुलित खानपान, धुम्रपान, मद्यपानको प्रयोग र मोटोपनका कारण नेपालमा कलेजो रोगीको संख्या दिनानुदिन बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । हेपाईटिस ‘ए’ र ‘ई’का कारण बढी हुने कलेजो रोग क्षयरोगको औषधी सेवन गर्ने मानिसमा पनि देखिन सक्ने सम्भावना उच्च रहेको छ ।
शरीरमा रहेको रगत सफा गरी भिटामिन, आईरन र ग्लुकोजलाई बचाउने तथा संचय गर्ने काम कलेजोको हो । कलेजोले प्रत्येक १ सेकेन्डमा १.५ प्रतिशत रगत प्राप्त गर्छ र शरीरमा संचय गर्छ, जसका कारण मानिस स्वस्थ्य रहन्छ । तर, अत्यधिक मद्यपान सेवन र हेपाटाईटिसका कारण कलेजोमा समस्या देखिन्छ ।
कलेजो कडा हुने, पिप जम्ने, बोसो जम्नेजस्ता समस्याले नेपालमा धेरै मानिस पीडित छन् । कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसी उमेर अनुसार कलेजोमा विभिन्न समस्या देखिने बताउँछन् ।
कलेजो रोगको उपचारलाई सहज बनाउन रोटरी क्लव अफ राजधानीले डेढ बर्ष अघि वीर अस्पताललाई फाईब्रो स्क्यान मेसिन हस्तान्तण गरेको थियो । कलेजोको कडापन परीक्षण गर्न मिल्ने यस मेसिनले उपचार कुन चरणमा पुगेको छ भन्नेसम्म पत्ता लगाउन सकिन्छ । एक निजी अस्पतालबाहेक वीर अस्पतालमा मात्र यो मेसिन छ ।
२ लाख ५४ हजार अमेरिकी डलरमा किनिएको यस मेसिनको प्रयोग भने राम्रोसँग हुन सकेको छैन । कलेजो रोग विशेषज्ञ डा. केसीले मेसिनको प्रयोग उल्लेख्य रुपमा हुन नसकेको बताए । वीर अस्पतालमा नै सस्तो शुल्कमा कलेजो रोगको परीक्षण हुन्छ भन्ने थाहा नपाएका कारण र अन्य सरकारी अस्पतालले समेत बिरामी रिफर नगरिदिएकाले मेसिनको प्रयोग धेरै हुन नसकेको उनले बताए ।
यो मेसिनबाट हालसम्म ६ सय बिरामीले मात्र कलेजोको कडापन परीक्षण गरेका छन् । यो मेसिन प्रयोगका लागि निजी अस्पतालले ८ देखि १० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ भने रोटरी क्लब अफ राजधानीको सहयोगका कारण वीर अस्पतालले तीन हजारमा नै कलेजो रोगको परीक्षण गर्ने गरेको छ ।
कलेजोले काम गर्न नसक्ने अवस्थामा कलेजो कडा बन्दै जान्छ, जसको समयमै उपचार नगरे बिरामीको मृत्यु समेत हुन सक्छ । कलेजो रोगको विरामीको उपचार सहज बनाउन वीर अस्पतालमा रहेको यस मेसिनबारे अस्पताल एवं रोटरी क्लबहरुले समेत प्रचारप्रसार बढाउने हो भने धेरै बिरामीले धेरै हदसम्म राहत पाउन सक्छन् ।
प्रतिक्रिया दिनुहोस्