२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


गाउँपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाईल वितरण


0
Shares

डीबी विष्ट 

बझाङ, फागुन १९ । मष्टा गाउँपालिकाले गाउँपालिकाभरी रहेका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोबाईल फोन वितरण गरेको छ । मष्टा गाउँपालिकाको आर्थिक सहयोगमा ‘जनतासँग अध्यक्ष’ कार्यक्रमअन्तर्गत गाउँपालिकाभरीका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सिमकार्डसहितका मोबाईल सेट वितरण गरिएको हो ।

समाजमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको ठुलो भूमिका रहेको भन्दै गाउँपालिकाले सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नमस्ते र एनसेलका सिमकार्डसहित मोबाईल वितरण गरेको मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले बताए । गाउँमा भएका स्वास्थ्य सम्बन्धी समस्या र प्रत्येक गाउँ समाजमा भएका सकारात्मक तथा नकारात्मक गतिविधिहरुका बारेमा जानकारी दिने उद्देश्यले मोबाईल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

एक महिला स्वास्थ्य स्वयंसेविका बराबर सीमकार्ड सहित ८ हजार १ सय १० रुपैयाँ बराबरका मोबाईल वितरण गरिएको छ । गाउँपालिकाको झण्डै २ लाख ८४ हजार  ७ सय ६० रुपैयाँको लागतमा  मोबाईल सेट र ७ हजार २ सयका सिमकार्ड गरी २ लाख ९१ हजार ८ सय १० रुपैयाँ खर्च भएको जनाएको छ ।

मोबाईल पाउँदा निकै खुशी लागेको महिला स्वास्थ्य स्वयंसेविकाहरुले बताएका छन् । वडा नम्बर ३ की महिला स्वास्थ्य स्वयंसेविका जुना कठायतले मोबाईल पाएपछि गाउँका समस्याहरु भन्न पनि सजिलो हुने बताईन् ।