७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024


रवीन्द्र युग र ‘साझा पार्टी’ हरूको भविष्य


0
Shares

– बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले महिनाको ६ लाख रुपैयाँ आउने जागिर छाडेर ‘साझा पार्टी’ को ऐलान गरेपछि नेपाली बौद्धिक वृत्त खासगरी फेसबुक, टुइटर र अनलाइनमा रमाउनेहरूमा अनेक तरङ्ग फैलिएका छन् ।

– राजनीतिलाई राजनीति बाहिरबाटै सुधार गर्न सकिन्छ कि राजनीतिमै जोडिनु पर्छ ? मिश्रको राजनीतिक यात्रा ‘समस्याको वस्तुगत विश्लेषण र योजनाबद्ध समाधान’ हो कि, नितान्त आकस्मिक निणर्य ? यी कुराहरूका छिनोफानो नेपाली राजनीतिमा विकसित हुने नवोन्मेषी घटना र आउँदा केही हप्ताले गर्लान् ।

अहिलेचाहिँ उनी राजनीतिमा किन आए भन्ने सुक्ष्म मीमांशा गरौं । मिश्र मिडियामा राम्रो पकड जमाएका व्यक्ति हुन् । सोसल मिडियामा राम्ररी छाउन सक्ने हैसियत राख्छन् तर उनले बुझ्नु पर्ने कुरा के भने मिडियाबाहिर पनि नेपाल र अधिक नेपालीहरू बस्छन् । ‘मिडिया क्रेजी राजनीतिज्ञ’ हुनुका नाताले उनले यो कुरा बुझ्नुपर्छ । मिडियामा पहूँच नभएकाहरूले पनि पार्टीमा अजश्र योगदान दिन सक्छन् ।

वर्तमान नेपाली राजनीतिमा फोहोरमैला भरिएको छ । यसमा शुद्धिकरणको खाँचो छ, यो अर्को सत्य हो । तर राजनीतिलाई शुद्ध बनाउने नाममा नेपालमा एकपछि अर्को गर्दै पार्टीहरू थपिनुचाहिँ कदापि राम्रो होइन । राजनीतिमा गरिने फजुल लगानी (?) ले सानै भए पनि उद्योग खोलेर दस÷बीस नेपालीलाई रोजगारी दिन सकिदैन र ? अथवा यसो भनौं, देशकै विकास गर्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बाँस क्रान्ति, मकै क्रान्ति, तरकारी क्रान्ति, दूध क्रान्ति, अम्लिसो क्रान्ति, माछा क्रान्ति, फलफूल क्रान्ति, जडीबुटी क्रान्ति या होमस्टे क्रान्तिजस्ता वैकल्पिक क्रान्तिहरू गर्न सकिन्छ । आरम्भ रवीन्द्रहरूजस्ताकै बुद्धिबाट सम्भव हुन्थ्यो, तर भएन । दुःख लाग्छ ।
पानीको उपयोग गर्दै साना, मझ्यौला र ठूला विद्युत् आयोजनाहरू बनाउन सकिन्छ । जनतामा चेतनाको उभार आइसकेको छ, अब त्यो चेतनाको उभारलाई निर्यातमुखी बेपार, शिक्षा, सञ्चार, सामाजिक संघसंस्था, सहकारी र नेपालीपन भएको सीप उपयोग गरेर वृहताकार रूप दिन ढिलो भैसक्यो । सगरमाथाको पानी, लुम्बिनीको माटो र सीता भूमिको प्रसाद बेच्न सकिन्छ । स्रोत अनन्त छन् मात्र व्यवस्थापनको खाँचो हो ।
जसरी सबै क्षेत्रको विकृति, विसंगति र अविकासको मूल जड राजनीति हो त्यसैगरी राजनीति नै सबै क्षेत्रको मसिहा पनि । तपाईंको मान्यता होला– ‘नेपालमा अब पुराना विचारका सिण्डीकेटहरू चल्दैनन् । यहाँका आफूलाई मूलधार भन्ने राजनीतिक पार्टीले जबसम्म सिण्डीकेटको राजनीतिलाई छाड्दैनन् तबसम्म नेपाली राजनीति शुद्धिकरण पथमा हिँड्न सक्दैन । राजनीति सपार्ने भनेकै शुद्ध राजनीतिले हो । हामीजस्ता पढेलेखेका र काबिल पुस्ता राजनीतिमा अहिले नआए कहिले आउने ? अब नआए कब आउने ?’

हो, तपाईंका यस्ता तर्कमा सहमत हुन सकिन्छ तर तपाईंको जन्म, बाल्यकाल, संस्कार, शिक्षा, देशाटन, कार्यक्षेत्र र सामाजिक कार्यको सफलताजस्तो नेपाली राजनीति अनुकूल क्षेत्र नहुन सक्छ । फेरि यो ‘टिम वर्क’ हो । तपाईंको पार्टीमा कस्ता मानिसहरू सहयात्री छन् ? केन्द्र, प्रदेश र नगर तथा गाउँ पालिकासम्ममा तपाईका कस्ता कार्यकर्ताहरू छन् या हुनेछन् भन्ने कुराले तपाईंको आउँदो पार्टीलाई पउल भरथेग गर्न सक्छ ।

नेपालको राजनीति २०५१ सालमा जब गिरिजाप्रसाद कोइरालाले बहुमतको संसद विघटन गरेर दम्भी निर्णयसाथ मध्यावधि निर्वाचन घोषणा गरे तब ओरालो लागेको हो । त्यसपछिका ठ्याक्कै २ दशक नेपाली राजनीतिको घिनलाग्दो परिच्छेद इतिहासमा दर्ज भएको छ । नेपालजस्तो देशमा जहाँको सामाजिक, आर्थिक, शैक्षिक, भौतिक, साँस्कृतिक र धार्मिक विविधता छ, त्यहाँ यतिधेरै दल र तिनका भ्रातृ संगठनहरूले गर्ने भागबण्डाको राजनीतिमा देखिएको कार्यशैली र भङ्गीमाको व्यवहारले देशलाई नै शनैःशनैः विघटनमा लैजान लागेको छ ।

डा.बाबुरामको ‘नयाँ शक्ति’ (पार्टी नयाँ नाम र विशेषणले मात्र नयाँ हुँदैन । त्यहाँ काम गर्ने र पछिलाग्ने मानिसहरू पनि नूतन विचारका हुनुपर्छ । बाबुरामले आफ्नो नेतृत्वमा भएको ‘जनयुद्ध’ लाई गलत नभनेका र मान्छे मार्ने कामको जिम्मेवारी पनि नलिएकाले त्यो नयाँ होइन पुरानो विचारकै निरन्तरता हो । बेस लाइन एउटै हो, कन्टेस्ट फरक हो ।) को देशीय संगठनको अवस्था देख्दा के पत्तो पाइन्छ भने रवीन्द्रजीको पार्टी पनि फेसबुक, अनलाइन र टुइटरमा मात्र छाउने पार्टी नबन्ला भन्न सकिन्नँ । उनी जस्तो पार्टी, विकास र शैलीमा सरकार गठन, सुशासनका बारेमा बहस गरिराखेका छन्, तिनीहरू जनतामा गएर घनिभूत रुपले संगठन गर्न सकिने अवस्था अनुकूल हुन सक्छ ? विवेकशील नेपाली, नयाँ शक्ति र अहिले आएर खुलेको ‘साझा पार्टी’ ले देशमा योगदान दिने भनेको अर्को एउटा पार्टी जन्माउने मात्र हुन् । धेरै काम गरेपछि मात्रै जनताले पत्याउँछन् । पार्टी स्थापित गर्न भन्दा जनहृदयमा स्थापित हुन दसकौं समय कुर्न सक्नुपर्छ । सकिन्छ ?

नयाँ पार्टीका लागि नूतन दर्शन चाहिन्छ । तपाईंको दर्शनको चूरो के हो ? गन्तव्य कहाँ हो ? रणनीति र कार्यनीति के हो ? शिक्षक, श्रमिक, कर्मचारी, विद्यार्थी, महिला, पेसाकर्मी र आम ‘ले म्यान’ का लागि तपाईंको पार्टीको उपस्थितिले के माने राख्छ ? यी तपाईंलाई आरम्भ मै जनताले गर्न सक्ने ‘प्रि यक्षप्रश्नहरू’ हुन् । दर्शनले विचार जन्माउँछ । विचारले पार्टी जन्मन्छ । पार्टीले क्रमिक रुपमा जनता गोलबन्द गर्दै संगठन गर्छ । गाउँ गाउँदेखि क्रियाशील समर्थकहरूको समूह चाहिन्छ । नेताले नीति प्रतिपादन गर्ने हुन् । त्यसलाई कार्यान्वयनमा लैजाने काम कार्यकर्ताहरूको हो । अहिले जसजसले नेपालमा पुराना पार्टीहरू बिग्रिए नयाँ पार्टीको खाँचो छ भनेर शेरगुल खिलाएर पार्टी खोलेका छन् तिनीहरू धेरथोर मात्रामा भारतको आम आदमी पार्टीको गतिबाट प्रभावित छन् । के उसको जस्तो उठान र उभार नेपालमा एकैचोटी गर्न सकिन्छ ? या नयाँ भनिएका पार्टीहरूमै कार्यगत एकता चाहिन्छ ? त्यसको मेहेरो पनि हेर्नु पर्ने हुन्छ । आम आदमीले दिल्लीमा शासन गरिरहेको छ तर त्यो भारतमा देशव्यापी रुपमा स्थापित हुन सकेको छैन । जसरी भारतमै पनि एक्ला क्षेत्रीय पार्टीहरूको उपस्थितिले खासै महत्व राख्दैनन् । काँग्रेस र बिजेपी नै त्यहाँका मूलधारका पार्टीहरू हुन् त्यसैगरी नेपालको परिस्थितिमा पनि काँग्रेस, कम्युनिष्ट र राजावादी पार्टीहरू नै मूलधारमा छन् । कमल थापाको पार्टीले जति समानुपातिकमा उल्लेख्य सिट पायो तर प्रत्यक्षमा एक सिट पनि जित्न नसक्नु जनताको मन नजित्नुको प्रमाण हो । संघीय समाजवादी फोरमलगायत अन्य सानासाना खुजुरे दलहरूले समानुपातिकमा मात्र आफ्नो उपस्थिति जताइरहेका बेला तिनीहरू प्रत्यक्षमा हात लाग्यो सून्यको स्थितिमा रहनु भनेकै जनसमर्थन न्यून हुनु हो ।

नेपाली राजनीतिमा शुद्धिकरण ल्याउने हो भने सर्वप्रथम पाँच प्रतिशत थ्रेस होल्डको व्यवस्था संविधानमै हुनु पर्छ । संविधानतः प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, निर्वाचित सांसदहरूलाई प्रत्याह्वानको व्यवस्था संवैधानिक रुपमै हुनु पर्छ । मतपत्रमा राइट टु रिजेक्ट, चन्दा र सहयोग रकमहरू लिँदा भौचर भरेर लिने, रकम भुक्तानी दिँदा चेकबाट दिने कार्य सबै बैंङ्कीङ् सिष्टमबाट गर्ने हो भने पार्टीका आर्थिक गतिविधि पारदर्शी हुन्छन् । जब पार्टी आर्थिक रुपमा पारदर्शी हुन्छन् अनि नेता र कार्यकर्तामा जनताले प्रश्न गर्दै औंलो उठाउन पाउँदैनन् । एमालेको राज्यलक्ष्मी गोल्छा, माओवादी केन्द्रको लहरक्याल लामा प्रकरण यदि बैङ्कीङ् सिष्टम अँगालिएको थियो भने आउने थिएनन् । काँग्रेसले पार्टी जीवन्तता दिनका लागि धेरै सुधार गर्नु आवश्यक भैसक्यो । प्रहरी महानिरीक्षक नियुक्ति, राजदूत सिफारिस (अझ आरजू देउवाले आमा प्रतिभा राणालाई जापानको राजदूतमा सिफारिस गराएको) र लोकमान महाभियोग प्रकरणमा काँग्रेस नराम्ररी चुकेकै हो । सत्तरी वर्षभन्दा बूढो उमेरको पार्टी अहिले इतिहासको शाख बचाउन जीवनमरणको दोसाँधमा छ । जनता काँग्रेसका जीवनमा मात्र होइन काँग्रेस पार्टीमार्फत् आफ्ना जीवनमा पनि जीवन संचरण भएको हेर्न चाहन्छन् । कस्तो लज्जास्पद अवस्था होे यो ? काँग्रेस ‘हिप्पोक्रेट या डेमेक्रेट’ के हो ? वाचाल क्राँग्रेसलाई गाउँगाउँबाट जनता प्रश्न गर्दै छन् ।

नेपाली राजनीतिक हविगत त्रासद् छ । संघीयता देशकै लागि घाँडो होला भैसक्यो । निनानसेकमा चित्रबहादुरको विचार नै ठिक भन्नु पर्ला भन्ने पो देखियो –मुलुकमा ।

हरेक परिस्थितिमा जनताले नयाँ विकल्पको हक राख्छन् । पुराना भएका सबै पार्टी बिग्रिएमा नयाँको खोजी हुनुपर्छ तर आउने भनेका नयाँ पनि यही देश, समाज र यिनै जनताबाटै आउने हुन् । तिनीहरू शिक्षित र दीक्षित यहीँका हावापानीमा हुन्छन् । यिनेरूका कार्यकर्ता यहीँका अन्न खाएर हुर्किन्छन् । देशले सबैथोक आयात गर्न मिल्ने तर नेता आयात गर्न नमिल्ने भएकाले पथभ्रष्ट भई मात्तिएका पार्टीलाई काउन्टर दिन नयाँ पार्टी खोल्नु पर्ने, पुराना नेता र कार्यकर्ताका विकल्प यहीँबाटै हुनु पर्ने हुन्छ । यस मानेमा तपाईंले जायज गर्नु भयो । तर कुरा यत्तिले मात्र सकिँदैन ।

नेपालमा अब खुल्ने नयाँ पार्टीहरूले कम्तिमा पनि यी तपसिलका साझा समस्याहरूको निरुपण गर्न सकेमा तिनीहरू समाजमा सजिलै स्थापित हुन सक्छन् । एक, नेपालको वर्तमान शिक्षाको फर्मेटलाई हाइस्कुलदेखि नै व्यवसाय र व्यवहारमुखी बनाउने । दुई, विदेश जाने युवालाई रोजगारी दिन सक्ने गरी काम र मामका लागि साना, मझ्यौला र ठूला उद्योगहरू पनि खोल्न मद्दत गर्ने । तीन, नेपाली राजनीतिको मूलधार अब जवाफदेही रुपले प्रस्तुत हुनु पर्ने । चार, नेपाली श्रमिक र कर्मचारीमा मौलाएको युनियनिजम्लाई पूर्णतया खारेज गरेर प्रशासनलाई स्मार्ट बनाउनु पर्ने । राजनीति गर्नेले वैकल्पिक पेसा अँगाल्नै पर्ने ।

राजनीतिक क्रान्ति नेपालमा प्रकारान्तरले सकिएको हो । सबैले बुझ्नु पर्छ कि लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रै हो । लोकतन्त्रको विकल्प सैनिक शासन, तानाशाही व्यवस्था र धार्मिक या अन्य खाले मोडेल हुन सक्दैन । यदि त्यस्तो फर्मेटमा नयाँ भनिएका तमाम पार्टीहरूले आफ्नो योगदान न्योछावर गर्न सक्छन् भने जनताले तिनीहरूलाई चुनावमा क्रमशः पत्याउँदै जाने छन् । नत्र तिनीहरू एकदिन इतिहासका गर्तमा नहराउनुको विकल्प छैन ।

अहिलेका कान्छो पार्टी ‘साझा पार्टी’ का संस्थापक रवीन्द्रजीलाई सुझाव तपाईं सफल पत्रकार, सफल सामाजिक अभियन्ता, लेखक र कवि हुनुभयो । यी जीवनका रङ्मा कुनै आपत्ती होइनन् तर एउटा कुरा ख्याल राख्नुस् पत्रकार हुनुको सबैभन्दा ठूलो सुविधा ‘पत्रकारले कहिल्यै उत्तर दिनु पर्दैन, उसलाई प्रश्न सोध्ने सुविधा मात्रै प्राप्त हुन्छ ।’ अब तपाईंको जीवनमा प्रश्न सोध्ने हक समाप्त भई उत्तर दिने युग आरम्भ गर्नु भएको छ ।

गान्धीले भनेकै छन् –‘डरो मत किन्तु समाज बदल डालो ।’ तपाईं समाजलाई अझ समुन्नत गर्दै बदल्न आउनु भएको हो भने एकदिन न एकदिन जनताले पत्याउँछन् । तर संसदमा गएर प्रतिपक्षको भूमिकामा बस्न र विरोधका लागि विरोध गर्न कुनै देशीविदेशी तत्वको खान्गी खाएर वा लगानीमा खुल्नु भएको हो भने तपाईंको जीवनको उत्तरार्ध राजनीतिमा खुसी र सुखी देखिन्नँ । प्लिज, यसलाई सुधारका लागि सुझावरुपमा लिनुहोला । कार्यक्रमका आधारमा हामी तपाईंका राम्रा कामको प्रशंसा र नराम्राका कामको विरोध भविष्यमा पनि गर्दै रहने छौं ।