
विनोदसिंह विष्ट (इमेज)
बैतडी, फागुन १८ । बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक माध्यमिक विद्यालयमा अध्ययनरत् छात्राहरुमा एक्कासि बेहोस हुने समस्या देखिन थालेको छ ।
विद्यालयमा अध्ययनरत् कक्षा–७ देखिमाथिका छात्राहरुमा यो समस्या देखिएको विद्यालयले जनाएको छ ।
छात्राहरुमा बेहोस हुने, छट्पटाउने, काम्नेजस्ता समस्या देखिएको प्रधानाध्यापक त्रिभुवनसिंह रावलले बताए ।
साथै, उनीहरुले अरुलाई लखेट्नेसमेत गरेका छन् ।
पढाइमा बाधा
‘केही महिनाबाट विद्यालयमा यो समस्या रहेको छ’–प्रधानाध्यापक रावलले भने–‘विद्यालयका पाँचजनाभन्दा बढी छात्राहरुमा यो समस्या देखिने गरेको छ ।’
छात्राहरुमा किन यस्तो समस्या छ भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको र यो समस्याले छात्राहरुको पढाइमा बाधा पुगेको विद्यालयले जनाएको छ ।
कहिले विद्यालयमा पुगेर, कहिले घरमै र कहिले विद्यालय आउँदै गर्दा बाटोमै छात्राहरु एक्कासि बेहोस हुँदा उनीहरुका अभिभावकहरु पनि चिन्तित भएका छन् ।
छात्राहरु बेहोस हुने समस्या जिल्लाका अरु विद्यालयमा पनि बेला–बेलामा देखिने गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।
सुझाव
छात्राहरुमा मानसिक तनावले यो समस्या हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
एकजनालाई हुँदा अरुले डर मान्दा उनीहरुलाई पनि यो समस्या देखापर्ने गरेको जिल्ला अस्पताल बैतडीका मेडिकल अधिकृत डा. देवेन्द्र लेखकले बताए ।
धेरै नसोच्ने, भीडभाड भएको ठाउँमा नजान डा. लेखकको सुझाव रहेको छ ।
प्रतिक्रिया दिनुहोस्