१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नेपालले केन्यालाई यसरी जित्यो (भिडियो)


0
Shares

यो जितसँगै नेपालले आगामी एकदिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाउने सम्भावनालाई कायमै राखेको छ ।

बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेसँगै नेपालले केन्यामाथि शानदार जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न केन्याविरुद्धको दोस्रो खेलमा नेपालले ७ विकेटको जित दर्ता गरेको हो ।

वर्षाले प्रभावित पहिलो खेलमा ५ विकेटको पराजय भोगेको नेपालले दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै ब्याटिङ गर्न मैदान उत्रिएको केन्याले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन जोड्यो ।

केन्यालाइ सस्तैमा समेट्नेक्रममा शरद भेषावकरले ४ विकेट हात पार्दा मेहबुब आलम र सन्दीप लामिछानेले २/२ विकेट आफ्नो नाम गरे । यस्तै, बसन्त रेग्मी र सागर पुनले १/१ विकेट हात पारे ।

लामो समयपछि राष्ट्रिय टोलीमा स्थान बनाएका मेहबुब आलमले ७ ओभरमा लगातार ५ ओभर मेडन राख्दै मात्र ११ रन खर्चिएर सुरुआती २ विकेट हात पारे ।

मेहबुबको जादुयी बलिङका बाबजुद फर्ममा बाहिर रहेका सोमपाल कामीलगायतका अन्य प्रमुख बलरहरुले विकेट लिन नसकी रहेकाबेला बलिङमा आएका ‘पार्टटाइम’ बलर शरद भेषावकरले ४ विकेट लिँदै केन्यालाई मध्यम स्कोरमा खुम्चाएका थिए ।

जवाफमा १५६ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको नेपालले पनि राम्रो सुरुआत गर्न सकेन । दोस्रो ओभरमा नै ओपनर सुनील धमला व्यक्तिगत १ रनमा पवेलियन फर्कंदा टोलीको स्कोर मात्र ४ रन थियो ।

राष्ट्रिय टोलीका लागि ‘डेब्यु’ गर्नेक्रममा अघिल्लो खेलमा पनि ‘कन्डिसन’अनुसार खेल्न नसक्दा मात्र ३ रनमा आउट भएका सुनीलले दोस्रो खेलमा पनि आफूलाइ प्रमाणित गर्न सकेनन् ।

तेस्रो नम्बरमा क्रिजमा आएका सागर पुनको पनि कहानी फरक हुन सकेन र मात्र ५ रन बनाउँदै पवेलियन फर्किए ।

टिमको स्कोर मात्र १४ रन हुँदा २ किवेट गुमाएर संकटमा परेको नेपालका लागि ज्ञानेन्द्र मल्ललाई साथ दिन चौथो नम्बरमा अर्का युवा खेलाडी दीपेन्द्रसिंह ऐरी क्रिजमा आए ।

राष्ट्रिय टोलीका लागि डेब्यु गरेको पहिलो खेलमा पनि धैर्यताकासाथ क्रिजमा टिकेका दीपेन्द्रले सुरुआतदेखि नै परिपक्व प्रदर्शन गरे ।

ज्ञानेन्द्र र दीपेन्द्रले परिपक्व खेल खेलेसँगै केन्याली बलरहरु निरीह साबित हुँदै गए ।

६६ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाएर दीपेन्द्रसिंह ऐरी आउट हुँदा नेपालले जितको आधार तय गरिसकेको थियो ।

उमेर समूहको विभिन्न प्रतियोगितामा प्रभाव जमाएका दीपेन्द्रले खेलमा अर्धशतीय पारीको मद्दतमा टोलीलाइ जिततर्फ अग्रसर मात्र बनाएनन्, राष्ट्रिय टोलीका लागि पनि आफू योग्य भएको प्रमाणित गरे ।

दीपेन्द्रसँग शतकीय ‘पार्टनरसिप’ गरेका ज्ञानेन्द्र मल्लले खेलमा नटआउट ६४ रन जोडे । उनले ९३ बलको सामना गर्नेक्रममा ८ चौका र १ छक्का प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरी आउट भएपछि क्रिजमा आएका शरद भेषावकरले आक्रमक ब्याटिङ गर्दै ११ बलमा २४ रन जोड्दै टोलीलाइ जित दिलाए ।

४ चौका र १ छक्का प्रहार गरेका शरदले अन्तिम बलमा विशाल छक्का प्रहार गर्दै नेपाललाइ शानदार जित दिलाए ।

एक दिवसीय क्रिकेटमा नेपालले केन्याविरुद्ध दर्ता गरेको यो पहिलो जित हो । (विस्तृत भिडियोमा हेर्नुहोस्)