
-बिराज रोस्यारा/ईमेज
कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा परेको असिनाका कारण हिउँदे वालीमा क्षति पुगेको छ ।
असिनाले बालीमा क्षति पुर्याएपछि बर्षभरी कसरी खाद्यान्नको जोहो गर्ने भन्दै किसानहरु चिन्तित भएका छन् ।
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा बिहीबार परेको असिना पानीले बारीमा लगाएको हिउँदे बाली पुरै नष्ट पारेपछि किसान चिन्तित बनेका हुन् ।
असिना पानीले वाँला पसाउन लागेको गहुँ, मकै, वन्दा, काउलीलगायत तरकारी फलफुलमा ठुलो नोक्सान पुर्याएको छ ।
वालीको उत्पादन लिने समयमा परेको असिना पानीले कामै नलाग्ने गरी सखाप वनाएको कृषकको गुनसो छ ।
ऋण धन गरेर जसोतसो खेती लगाए पनि वाली पाक्ने समयमा नोक्सानी हुँदा अव कसरी छाक टार्ने भन्दै चिन्ता लाग्न थालेको कृषक वेमाया तामाङ बताउँछिन् ।
उनी जस्तै मंगलवहादुर तामाङको पनि हालत त्यस्तै छ । वर्ष दिनसम्म खानेवाली असिनाले सखाप वनाउँदा खाद्य संकट हुन सक्ने भन्दै अव कसरी घर चलाउने भन्ने दुखेसो गर्छन् ।
असिनाले प्याज, गोलभेडा, वन्दा, काउलीलगायत गहुँ, मकै, फाफर तथा फलफुलमा समेत क्षति पुर्याएको छ ।
पुनर्वास नगरपालिकाको कृषि शाखाका प्रमुख कर्णवहादुर शाहीले असिनाका कारण ८० प्रतिशत भन्दा वढी वालीमा क्षति भएको बताउँछन् ।
असिना पानीले गरेको क्षतिको संकलन भइरहेको पुनर्वास नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको कृिष शाखाका अनुसार वडा नंम्वर २, ३, ४,७, ८ र ९ मा गरी ८० प्रतिशत भन्दा वढी वालीमा क्षति भएको हो ।
वर्षेनी जंगली हात्तीबाट बाली नोक्सानको मार खेप्दै आएका किसान यसबर्ष असिनाले बालीमा क्षति गरेपछि चिन्तित भएका छन् ।
उनिहरुले किसानको समस्यालाई मध्यनजर गरेर सरकारले क्षतिपूर्ति दिन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्