
काठमाडौं, असार २१ । महानगरीय प्रहरी परिसर काठमाडौंले गोंगबु क्षेत्रमा गुन्डागर्दी गर्ने चारजनालाई पक्राउ गरेको छ ।
परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम असुल्दै आएका नुवाकोटका सुरे डंगोल, राजकुमार ढुंगाना, रोल्पाका रामकुमार घर्ती र गोरखाका भीमबहादुर थापालाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता मोहनकुमार थापाले होटल, रेस्टुराँ र डान्सबारमा गइ रकम असुल्ने तथा झै–झगडा गर्ने गरेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
नागढुंगाबाट लागुऔषधसहित दुई पक्राउ
परिसरअन्तर्गत्को महानगरीय प्रहरी प्रभाग नागढुंगाले बिहीबार बिहान लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना५ख ४१९० नम्बरको यात्रीबाहक बसको जाँचकाक्रममा लागुऔषधसहित धादिङका सञ्जीव परियार र सिन्धुपाल्चोकका निराजन पराजुलीलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुबाट २४ एम्पुल नुर्फिन, २४ एम्पुल फेनार्गन र २४ एम्पुल डाइजेल्याब बरामद गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्