२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


मन्त्री अधिकारीप्रति टुँडिखेलमा श्रद्धाञ्जलि, कसले–के भने ? (भिडियो)


0
Shares

सरोज अधिकारी, देवेन्द्र महर्जन र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, फागुन १७ । ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाप्रति काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जलि दिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणले मृतकहरुलाई श्रद्धाञ्जलि दिएका छन् ।

मन्त्री अधिकारीको निधनले पार्टी विशेषलाईमात्र नभइ सिंगो मुलुकलाई क्षति भएको भन्दै विपक्षी दलका नेताहरुलेसमेत स्वर्गीय अधिकारीको प्रशंसा गरेका छन् ।

बिहीबार नै टुँडिखेलमा श्रद्धाञ्जलिका लागि तयारी गरिएको भएपनि शव पहिचानमा समय लागेपछि शुक्रबार बिहान श्रद्धाञ्जलिका लागि समय तय भएको थियो ।

सातै शवलाई टुँडिखेलमा लस्करै राखेर श्रद्धाञ्जलि दिइएको हो ।

मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जलि दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल पुगेका थिए ।

श्रद्धाञ्जलिका लागि उच्चपदस्थ कर्मचारी, सेना, प्रहरीका उच्च अधिकारी, संवैधानिक अंगका प्रमुखहरु र सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

मन्त्री अधिकारीको निधनबाट अलि बढी नै चिन्तित देखिएका प्रधानमन्त्री ओलीलगायतका राजनीतिक उच्च नेतृत्वले मिडियासँग खासै कुरा गरेनन् ।

राष्ट्रपति र प्रधानमन्त्री छोटो समयमात्र टुँडिखेलमा बसेका थिए भने नेकपाका तेस्रो तहका नेताहरुमात्र पूरै समय टुँडिखेलमा देखिन्थे ।

मन्त्री अधिकारीले मुलुकको समृद्धिका लागि गरेको योगदान धेरैले स्मरण गरिरहेका थिए । उनले छोडेर गएको सपना पूरा गर्न सबैजना लाग्नुपर्ने उनीहरु बताइरहेका थिए ।

नेकपा नेताहरुले मुलुकलाई समृद्ध बनाउन ‘भिजन’ भएको व्यक्ति गुमाएको टिप्पणी गरिरहेका थिए ।

नेकपा नेता वामदेव गौतमले मन्त्री अधिकारीले छाडेर गएका दस्तावेज अध्ययन गरी त्यसको कार्यान्वयनमा लाग्नुपर्ने बताए ।

एउटै मन्त्रिपरिषदमा काम गरिरहेका श्रममन्त्री गोर्कण विष्टले कुशल, सरल र सम्भावना बोकेको राजनीतिक नेतृत्व मुलुकले गुमाएको टिप्पणी गरे ।

उनकै दलका नेतामात्र होइन, मन्त्री अधिकारीसँग विचार नमिल्नेहरुपनि उनको योगदानको खुलेर चर्चा गरिरहेका थिए ।

श्रद्धाञ्जलि दिन टुँडिखेल पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकारीसँग आफ्नो राजनीतिकभन्दा बढी व्यक्तिगत सम्बन्ध रहेको र उनको निधनले ठूलो क्षति पुगेको टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अधिकारीले थुप्रै दस्तावेजहरु छाडेर गएकाले त्यसैअनुसार अब विकासको काम अघि बढाउनुपर्ने बताए ।

श्रद्धाञ्जलि दिनका लागि प्रदेशका मुख्यमन्त्रीहरुसमेत काठमाडौं आएका  थिए ।

प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले परिवतर्नलाई संस्थागत गर्न ठूलो त्याग गरेका अधिकारी अब लाभको समयमा देशले गुमाउनु दुर्भाग्य भएको बताए ।

श्रद्धाञ्जलिका लागि टुँडिखेल पुगेका अधिकांश मानिसका आँखा रसाएका देखिन्थे ।

भिडियो हेर्नुहोस्