९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


संसद नै छाडेर सडक संघर्ष गर्नेसम्मको कांग्रेसको चेतावनी (भिडियो)


0
Shares

सरोज अधिकारी/उत्तम मानन्धर (इमेज)

काठमाडौं, असार २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफू नेतृत्व सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदको निर्णयप्रति कडा आपत्ति जनाएको छ ।

यो घटनाले ‘सरकार अधिनायकवादतर्फउन्मुख छ भन्ने पुष्टि भएको’ भन्दै कांग्रेसले अब संसद र सडक संघर्षलाई चर्काउने र परिआए संसद नै छाडेर संघर्षमा जानेसम्मको चेतावनी दिएको छ ।

बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ भदौ १४ देखि फागुनसम्म गरेका सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि विपक्षी कांग्रेस सरकारप्रति क्रूद्ध बनेको हो ।

प्रदेशप्रमुखसहितका सबै राजनीतिक नियुक्ति एकै निर्णयबाट खारेज भएपछि कांग्रेसले वर्तमान सरकार संघीयतालाईसमेत मास्ने अभियानमा लागेको आरोप लगाएको छ ।

‘प्रदेशप्रमुख हटाउनुले सरकार प्रदेश संरचना नै खारेज गर्न चाहन्छ भन्ने देखिएको’ भन्दै कांग्रेसले ‘सबै क्षेत्रमा कब्जा गरेर कम्युनिस्ट नेतृत्वको सरकार अधिनायवाद लाद्न चाहन्छ भन्ने प्रस्ट भएको’ ठहर गरेको छ ।

कांग्रेस महामन्त्री डा. शशांक कोइराला सरकार अधिनायवादतर्फ छ भन्ने कांग्रेसको आरोप मन्त्रिपरिषदको निर्णयबाट पुष्टि भएको बताउँछन् ।

वर्तमान सरकार पनि नेपाल सरकारकै हिजोको निरन्तरता भएको भन्दै उनले अघिल्ला सरकारले गरेका निर्णय उल्ट्याउँदै जाँदा मुलुक दुर्घटनामा जानसक्ने बताउँछन् ।

सरकारको निर्णयले नेपाली जनताको अधिकार र लोकतन्त्रमाथि नै प्रश्न उठेकाले लोकतन्त्रको रक्षाका लागि सबै एक हुनुपर्ने उनको धारणा छ ।

देउवा नेतृत्वको सरकारले सात प्रदेशमा सात प्रदेशप्रमुखसहित एक दर्जन बढी निकायमा राजनीतिक नियुक्ति गरेको थियो ।

कांग्रेस महामन्त्री कोइराला राज्य सन्चालनका लागि अघिल्लो सरकारले संविधानतः गरेका नियुक्ति खारेज गर्नुको कारण सरकारले पुष्टि गर्न नसक्ने दाबी गर्छन् ।

न्यायालय, सरकारी संयन्त्र, स्वतन्त्रताका आधारस्तम्भ सबैमा हस्तक्षेप गरेर सरकारले आफ्नो असलीरुप देखाएको भन्दै उनले कांग्रेसले अब सडक र सदनमा संघर्षका कार्यक्रम थाल्ने बताए ।

आफूहरुको विरोधलाई सरकारले नसुने लोकतन्त्र रक्षाका लागि कांग्रेस परिआए संसद छाडेर पनि संघर्षमा उत्रने चेतावनी उनले दिए ।

भिडियो हेर्नुहोस्