१ असार २०८१, शनिबार | Sat Jun 15 2024


संसारमै दक्षिणपन्थी हठवादको अभ्युदय


0
Shares

देश प्राकृतिक रुपले हिमाल, पहाड र तराईमा विभाजित त थियो नै, अब प्रशासनिक रुपले केन्द्रीय प्रशासन, प्रान्तीय प्रशासन र स्थानीय तह प्रशासनका रुपमा समेत गैसक्यो साथै राजनीतिक रुपले संघीयता कार्यान्वयन हुन थालेपछि अब गाउँले सिंहदरबारको मुख ताकेर बस्नु पर्दैन । सायद् धर्ना, जुलुस, घेराउ, आन्दोलन र मुठभेडमा जानु पर्दैन । जुँगा हल्लेको चाल हेरेर रुङ्नु पर्दैन । आफ्ना गाउँ, नगर, उपमहानगर र महानगर आफैँ बनाउने अधिकार पाए । यो खुसीको कुरा हो । यसैका लागि नेपाली करिब आधुनिक युगका सात दशक लडेका हुन् । अब संघीयता संस्थागतका सबाल छन् तर विश्वको अनुभव भने संघीयताका सन्दर्भमा तीता र नमिठा पनि रहेका छन् । यो भयो संघीयताको पाटो ।

अर्को पाटो पनि छ– जसको मिहीन मिमांशा गर्ने हो भने नेपालमा भीडझैँ राजनीतिक पार्टीहरू जसरी अराजक तबरले अघि बढ्दै छन्, त्यसले सामयिक रुप र ‘फास्ट ट्रयाक’ मा हुनु पर्ने कामहरू समयमै हुन नसक्दा प्राप्त अधिकार र सुख कुलीन र एलिट वर्गका पेवा हुने होइन भन्ने भ्रमसमेत उठ्न थालेका छन् ।

आफू समेत सहभागी भएको आफ्नै सरकार विरुद्धमा उपप्रधानमन्त्री तथा संघीय मामला तथा स्थानीय विकास मन्त्री कमल थापाले सडक प्रदर्शन गरे । प्रहरीले लाठी चार्ज ग¥यो, जसमा लोकप्रिय गायिका कोमल वली, राप्रपाका पुराना नेता पशुपति शमशेरलगायत अन्य कार्यकर्ताहरू घाइते भए । एउटा उपप्रम आन्दोलन गर्ने र अर्को उपप्रम लाठी प्रहारको आदेश दिने । यो कस्तो राजनीतिक नाटक हो ? निर्वाचन आयोगले कुनै पार्टी विशेषको विधानमा लेखिएको ‘राजतन्त्र र हिन्दू राष्ट्र’ सम्बन्धी वाक्यांश हटाउने अधिकार कहाँबाट पायो ? ऊ सबै किसिमका निर्वाचन सम्पन्न गर्ने स्वशासित संवैधानिक निकाय हो वा राजनैतिक बहस निम्त्याउने संवैधानिक अंग ?

संघीयता कार्यान्वयनका सिलसिलामा हुने यो स्थानीय निकायको चुनावको माने र महत्व धेरै छ । करिब ३६ हजार जनप्रतिनिधिहरू यही चुनावबाट आउँछन् । महिला, जनजाति, दलित, मुस्लिम, अपाङ्ग लगायतको प्रतिनिधित्वपछि स्थानीय निकायले पाएको अधिकारअनुसार कार्य गर्दै रहियो र काम गर्दा आउने समस्यालाई न्यूनिकरण गर्दै अघि बढियो भने अर्को पाँच वर्ष पछिको स्थानीय तह निर्वाचनसम्म नेपाली लोकतन्त्र व्यवस्थित हुने बाटामा क्रमशः जाने छ ।

त्यसपछि हुने प्रदेश सभाको चुनाव र केन्द्रीय चुनावले धेरै समस्याका समाधान गर्नेछन् । अभ्यासबाट पाठ सिक्दै अघि जाने हो भने नेपालका लागि संघीयता वरदान भई विश्वका लागि लेसन हुन सक्छ । नयाँ पार्टीहरूबाट पनि केही मानिसहरू देशैभरि आए भने पुरानालाई सुधारका लागि चरम दवाव पर्न थाल्छ । जनचेतना र जनचासोका क्षेत्रले पनि देशलाई अघि लैजान सक्छन् । विकासले एकदुई दशकमा फड्को मार्न सक्छ । विगतको दुई दशकमा पनि नेपालमा आशातीत विकास नभएका कहाँ हुन् र ? सडक, पुल, आवास, सुपर मार्केट र भौतिक पूर्वाधारका कार्य देशैभरि भएका छन् । शिक्षा, स्वास्थ र सञ्चारका क्षेत्रमा नसोचिएका फड्का नेपालले मार्न थालिसकेको छ । मात्र राजनीतिक स्थिरता, संक्रमणको अन्त्य, पार्टीगत दन्तबझान र सिण्डीकेटको मिलिभगत संस्कारलाई हामीले अन्त्य गर्नु परेको छ ।

देशीय अवस्था एकातिर यस्तो हुँदा विश्वको परिदृश्य चाहिँ ढुक्कसँग अघि बढेको छैन । अमेरिका, भारत, रुस, मलेसिया, लिविया, सिरिया र टर्कीमा उदाएका केही असजिला आपराधिक र शंकास्पद राजनीतिक वातावरणले विश्वका शान्तिप्रेमी अर्बौं नागरिकहरूको निद हराम गरेको छ । बौद्धिकहरू प्रजातन्त्रका नाममा संसारभर उदाएका ‘सफ्ट तानाशाह’ छविका प्रधानमन्त्री र राष्ट्रपतिका शासन शैलीका रुप र सारबाट सशंकित हुन थालेका छन् । नेपालमै पनि कांग्रेसमा नेतृत्व रिक्तताको बहस उठ्न थालेको छ । एमालेको राष्ट्रिय झण्डा बोकेर थालिएको राष्ट्रिय राजनीतिलाई मधेशले प्रिय नमानेको अवस्था हाम्रै आँखाअघि सप्तरी घटना बनेर उदायो । मधेशलाई अराजक शैली परिवर्तनको निरन्तर दवाव छ– आम नेपाली जनताबाटै । माओवादी र राप्रपाजस्ता पार्टीहरूको पनि तिनका नेता, कार्यकर्ता, कार्यशैली, राजनीतिक मुद्दा र कार्य प्रक्रियाका आधारमा वस्तुगत मूल्याङ्कन गर्दा सही मेसो समातेको देखिन्न । भलै, यस्तो अवस्थामा पनि हामीले लोकतन्त्रको महायात्रामा नहिँडी सुख छैन किनकि हामीले नै हाम्रालागि भनेर ल्याएको हो– यो लोकतन्त्र ।

दार्शनिकहरूले यो युगलाई डिकस्ट्रक्सनको युग भनेका छन् । पुराना नीति र नियमहरूको नैरन्तर धराशयी हुनु, नवीन मूल्य मान्यता प्रविधिमैत्री भएर नआउनु र युवापुस्ताको ल्याकत तथा आवाजलाई क्रमशः तिरस्कार गर्ने संस्कार जोर जब्बरसँग दह्रो हुँदै जानु निश्चय पनि हामीकहाँ खराबी हावी भएर गयो भन्ने हो ।

हिमाल खबर पत्रिकाका स्तम्भकार तथा पत्रकार कनक दीक्षित लेख्छन् –‘आज संसारमा खाँट्टी कम्युनिष्ट अधिनायकवाद तथा दक्षिणपन्थी ‘डेमागग’को विगविगी छ । यी दुईथरीको वस्तुगत रणनीति र कार्यशैलीमा धेरै फरक छैन । बेइजिङ्मा विराजमान सी जिनपिङ् त महाचीनको सर्वव्यापी अटोक्र्याट भइहाले, रुसका भ्यादिमिर पुटिन, टर्कीका रेचेप एर्दोगन्, फिलीपिन्सका रोड्रिगो दुगर्ते र भारतका नरेन्द्र मोदी दक्षिणपन्थ डेमागग हुन् र यिनमाथि हिंसा प्रयोगको आरोप लागेको छ । रहे अमेरिकाका डोनाल्ड ट्रम्प, जसको सिल्ली बोली, व्यवहार तथा हस्तक्षेपले अमेरिका लोकतन्त्र गुम्न सक्ने मुलुकको तालिकामा दर्ज हुन पुगेको छ । संसार हेरिरहेछ –अब के गर्छ अमेरिका, कता जान्छ अमेरिका ?’
सरकार गठन विगठनका लागि सोझै या घुमाउरो चालले दिल्लीले अझै नेपाली नेताका कान फुक्न छोडेको छैन । दुश्यअदृश्य चकोरहरू त लोकतन्त्रको पन्यालो जुनेली रातलाई औंसीकालीन रात्रिमा परिणत गर्न अहोरात्र खटेका छन् । नपत्याउँदो पाराले नेपालमा क्रियाशील र स्थापित सबै पार्टीलाई उसका विविध ‘विङ’ ले खेलाउँदै लगानी गर्छन् र मुनाफाको हिसाबकिताबका तेरिज पेश गर्न लगाउँछन् । टाढा जानै पर्दैन । यो दुई दशकको नेपाली राजनीतिलाई निष्पक्ष विश्लेषण गरे पुग्छ । कुनकुन पार्टीले भारतको कतिकति प्रतिशत ताबेदारी गरेका छन् ।

सामयिक र वस्तुगत शैलीमा सटिक विश्लेषण गर्दै दीक्षित अझैअघि लेख्छन्–नेपाली राजनीतिको सही मूल्याङ्कन गर्न अरु मुलुकसँग दाँज्ने हो । कसैले भन्दैन, नेपाल ठिक हिसाबले चलेको छ । विशेषतः नागरिकलाई समावेशिता तथा समृद्धितर्फ लैजानमा हामी चुकेका छौ, पूरै सात दशकको आधुनिक युगमा । परिवर्तन त धेरै भयो तर मिहिनेती जनताले अर्थोपार्जन गर्न पाएनन्, त्यसैले खाडी र मलेशिया चहार्नुपरेको छ । यसको मुख्यकारण बिग्रेको राजनीति र विषम भूराजनीति हो । तर छेउछाउको मुलुक र प्रान्त हेर्ने हो भने अझै पनि नेपाली समाजको सौम्य र फराकिलो मन देखिन्छ । तिब्बतीहरू हान चिनायाँको आगमनले आफ्नै थलोमा एक्लिँदैछन् । पाकिस्तानका जनता तालिवान, आइसिस्लगायत सैनिक जासुस(आईएसआई) इत्यादिको तारो बन्छन् र सुन्नी–शिया द्वन्द्वको मारमा पनि । एक महिनाअघि मात्र सिन्ध प्रान्तमा मस्तकलन्दर सुफिदर्गामा भक्तजनमाझ बम विस्फोटमा झण्डै १०० जनाको ज्यान गयो । भारतमा जताततै तनाव छ । छेवैको उत्तरप्रदेशमा भइरहेको निर्वाचनका दौरानमा प्रम मोदी र भाजपा अध्यक्ष अमित शाहजस्ता राष्ट्रिय नेताले साम्प्रदायिकता भड्काउने भाषण गर्दै हिँड्छन् । बंगलादेश त एकदलीय प्रणालीमा प्रवेश गरिसक्यो । शेख हसिनाको अवामी लिग खालिदा जिया र उनको दल बीएनपीको नामोनिशान मेटाउने तरखरमा छ । सामाजिक–राजनीतिक अवस्था जर्जर छ, जसको संकेत हो– ब्लगमा स्वतन्त्र विचार राख्ने व्यक्तिमाथिको धार्मिक अतिवादीद्वारा सांघातिक आक्रमण र हत्या । म्यानमारमा त्यत्रो ख्याति कमाएकी आङ् साङ् सुकी ‘राजनेता’ वा ‘स्टेट्स–वुमन’ बाट साधारण नेताको पंक्तिमा झरेकी छन्, उत्तरपूर्वी रखाइन् प्रान्तका रोहिग्या मुसलमानहरूलाई अमानवीय विस्थापनतर्फ धकेलेर ।’ दीक्षितीय विश्लेषणको सार के पनि हो भने हामी यात्रामा जानु पर्नेतिर नगएर पावरका लागि लोकको नाखुस गर्ने राजनीति ‘लोकतन्त्र’ मै गर्दैछौं ।

अमेरिका ट्रम्पजस्ता ताल न बेतालका राष्ट्रपतिको कार्यकालमै तबातबा हुन सक्ने आंकलन गरिन थालिएको छ । वैश्विक राजनीतिको पानी यतिबिघ्न धमिलिएको सायदै कुनै दसकमा थियो ! अहिले विद्यमान् विश्वको चर्चा र चासाको विषय यही हो । ढिलोचाँडो ‘दक्षिणपन्थी डेमागग’ का विरुद्ध विश्वमा सानाठूला आन्दोलनहरू नउठ्लान् भन्न सकिन्नँ । जसको नेतृत्व ‘नयाँ’ भनिने डेमोक्रेट पार्टीहरूले नै लिनु पर्ने देखिन्छ ।