२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्नुपर्ने एनआरएनएको ठहर


0
Shares

सम्मेलनले मध्यपूर्व (खाडी राष्ट्रहरु) र मलेसियालगायत विभिन्न मुलुकहरुमा जाने नेपाली कामदारलाई दिइने भनिएको फ्रि भिसा फ्रि टिकटको व्यवस्था व्यवाहारिकरुपमा कार्यान्वयन गर्नुपर्ने ठहर गर्दै यसका लागि नेपाल सरकारसँग सहकार्य गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई आग्रह गर्ने निर्णय गरेको हो ।

नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन गैरआवासीय नेपालीहरुले नेपालमा पैसा पठाउँदा बैंकिङ च्यानलमात्र प्रयोग गर्न अपिल गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।

भूकम्पपछिको पुनःनिर्माण भइरहेको अवस्थामा नेपालमा निर्माण क्षेत्रमा दक्ष जनशक्तिको ठूलो खाँचो रहेको भन्दै वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन प्रोत्साहन गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।

मलेसियाबासी नेपालीहरुको अंग्रेजी भाषा तथा दक्षता वृद्धिका लागि मलेसिया नेपाल बिजनेस काउन्सिलका अध्यक्ष दातो प्रदिप कुक्रेजाले मलेसियामा व्यक्तिगतरुपमा स्कुल सन्चालन गर्ने र नेपाली कामदारलाई निःशुल्क भाषा कक्षा सन्चालन गर्ने घोषणा गरेका छन् ।

उक्त स्कुल सन्चालन गर्ने अध्यक्ष कुक्रेजाको निर्णयको स्वागत गर्दै सम्मेलनले यो योजनाको लागि राष्ट्रिय समन्वय परिषद मलेसिया र उक्त काउन्सिलबीच सम्झौता गर्ने निर्णय गरेको छ ।

यसैगरी, वैदेशिक रोजगारमा रहेका थोरै कमाइ भएका नेपालीहरुको सुरक्षित लगानीका लागि उपयुक्त क्षेत्र पहिचान गरी सामूहिक लगानीको प्रोत्साहन गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।

साना, मझौला तथा ठूला उद्योगहरुका साथै उत्पादनशील क्षेत्रहरुमा सामूहिक लगानी गर्न प्रोत्साहन गर्ने सम्मेलनको निर्णय हो ।

मलेसियाको क्वालालम्पुरमा आयोजित सम्मेलनको गत आइतबार परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका थिए ।

‘दक्ष जनशक्ति, उद्यमशीलता समृद्ध नेपालको आवश्यकता’ भन्ने मूल नारासहित आयोजित सम्मेलनमा एसिया क्षेत्रका १५ सहित विभिन्न १७ देशका करिब २०० जना गैरआवासीय नेपालीहरु सहभागी थिए ।

सम्मेलनकाक्रममा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि लक्षित गरी ‘मुग्लान एप’ सार्वजनिक गरिएको थियो ।

उक्त एपमार्फत् गुनासो तथा उजुरी दिन सकिनेछ भने विदेशमा रहेका सबै नेपाली दूतावासको जानकारीसहितका सेवा पाउन सकिने जनाइएको छ ।